
२३ चैत, म्याग्दी। यस वसन्त ऋतुमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जना आरोहीले अनुमति प्राप्त गरेका छन्। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा अवस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उनीहरूले अनुमति पत्र लिएका हुन्।
पर्यटन विभागका अनुसार धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका छन्। विभागले पछिल्लो पटक जारी गरेको विवरणअनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि चार समूहका आठ महिलासहित २७ जनाले अनुमति लिएका छन्। धौलागिरि आरोहण अनुमति बाट ७५ लाख ६४ हजार ६५० रुपैयाँ र अन्नपूर्ण आरोहण अनुमति बाट एक करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व प्राप्त भएको विभागकी शाखा अधिकृत शर्मिला बञ्जाडेले जानकारी गराइन्।
उनका अनुसार वसन्त ऋतुमा अन्नपूर्ण, धौलागिरि लगायत १२ हिमाल आरोहणका लागि २४ समूहका १७० जनाले अनुमति लिँदा १० करोड ८७ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। दैनिक रूपमा आरोहण अनुमति लिनेहरू बढ्दै गएकाले संख्या थपिँदैछ। गत शरद ऋतुमा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए भने अन्नपूर्ण आरोहणको लागि कुनै पनि अनुमति लिइएको थिएन। गत वर्षको वसन्त ऋतुमा धौलागिरि आरोहणका लागि दुई समूहका १५ जना र अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएर तयारी गरिरहेका थिए। अन्नपूर्ण र धौलागिरि हिमालको आधार शिविरमा आरोही टोलीहरू पुगेका छन् र आरोहणको तयारीमा जुटेका छन्। –रासस






