Skip to main content

ट्रम्पले नेतान्याहु निकट दूत हटाई जेडी भान्सलाई वार्ताका लागि अगाडि सारे

२४ चैत, काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयासमा महत्वपूर्ण कूटनीतिक परिवर्तन भएको छ। इरानी सञ्चारमाध्यम ‘फर्स’ का अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई हटाएर उपराष्ट्रपति जेडी भान्सलाई वार्ताको मुख्य जिम्मेवारी सुम्पिने प्रस्ताव गरेका छन्। विटकफ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु निकट मानिएकाले इरानले उनीसँगको वार्तामा शंका व्यक्त गरिरहेको थियो। इरानको माग सम्वोधन गर्दै वार्तालाई थप गंभीर बनाउन ट्रम्पले यो कदम चालेको बुझिएको छ।
तेहरानका एक अधिकारीका अनुसार ट्रम्प प्रशासन अहिले छिटो सम्झौता गर्न चाहन्छ। जारी युद्धका कारण अर्को हप्तादेखि विश्व बजारमा इन्धन मूल्य अत्यधिक बढ्न सक्ने डर अधिकारीले व्यक्त गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ मार्फत आज राति ८:०० बजे सम्म इरानलाई अन्तिम समयसीमा तोकेका छन्। यदि सो समयमा इरानले ‘स्ट्रेट अफ हर्मुज’ नखोली सम्झौता नगरेमा इरानका ऊर्जा केन्द्र र भौतिक पूर्वाधारमा भीषण आक्रमण हुने चेतावनी ट्रम्पले दिएका छन्।