
टाइम्स बास्केटबल क्लबले केभीसी हाउण्ड्सलाई ७६-६८ को अन्तरले पराजित गर्दै एचजेएनबीएलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। बिहीबार टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबसँग फाइनल प्रवेशका लागि भिड्नेछ। टाइम्सका श्रेयास बहादुर थापाले २३ अंक बनाए भने मनिष केसी म्यान अफ दि म्याच घोषित भएका छन्।
२४ चैत, काठमाडौं। हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत मंगलबार भएको एलिमिनेटरमा टाइम्स बास्केटबल क्लबले केभीसी हाउण्ड्सलाई ७६-६८ ले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो। त्रिपुरеш्वरको दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाइम्सले हाउण्ड्ससँग प्रतिस्पर्धा गर्दै विजय हासिल गर्यो।
अब टाइम्सले बिहीबार दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि गोल्डेनगेट बास्केटबल क्लबसँग भिड्नेछ। मंगलबार भएको पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको गोल्डेनगेटले फाइनलमा पुग्ने अर्को अवसर पाएको छ। हाउण्ड्स भने लिगबाट बाहिरिएको छ।
खेलको पहिलो क्वाटरमा टाइम्सले २४-१८ को अग्रता लिएर राम्रो सुरुवात गर्यो। दोस्रो क्वाटरमा हाउण्ड्सले १८-१२ को अग्रता लिएर हाफटाइमसम्म स्कोर ३६-३६ बराबरी बनायो। त्यसपछि तेस्रो क्वाटरमा टाइम्सले २१-१२ को स्कोर ल्याएर चौथो क्वाटर अघि ५७-४८ को अग्रता लियो। चौथो र अन्तिम क्वाटरमा हाउण्ड्सले २०-१९ को अग्रता लिए पनि टाइम्सलाई जितबाट रोक्न सकेन। लिग चरणमा टाइम्स तेस्रो र हाउण्ड्स चौथो स्थानमा थिए। दुवैले लिगमा एक अर्कासँग दुई खेल खेल्दा एक-एक खेल जितेका थिए।






