नेकपाले उपसभामुखका लागि श्रम संस्कृतिकी रुबी ठाकुरलाई समर्थन गर्ने निर्णय गर्यो

नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। उपसभामुख पदमा रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाको उम्मेदवारी छ। रास्वपाले रुबीकुमारीलाई समर्थन गरेसँगै उपसभामुखमा उनको निर्वाचित हुने पक्का छ। २६ चैत, काठमाडौं।
उपसभामुख पदका लागि ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामाको उम्मेदवारी परेको छ। बिहानी ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको समय अवधिमा दुई जनाको उम्मेदवारी दर्ता भएको हो। भोलि, शुक्रबार, उपसभामुख निर्वाचन हुने छ। श्रम संस्कृतिको उम्मेदवार रुबीकुमारीलाई सत्तारुढ दल रास्वपाले समेत समर्थन गरेको छ।
सभामुख र उपसभामुख फरक दल र लिंगबाट चुनाव हुने व्यवस्था गरिएको छ। यसअघि नै रास्वपाबाट डिपी अर्याल सभामुख भइसकेका छन्। प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्। नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद छन्। रास्वपाले समर्थन दिएपछि श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी उपसभामुखमा निर्वाचित हुने पक्का छ। श्रम संस्कृतिका उम्मेदवारलाई समर्थन गर्ने निर्णय नेकपाका सांसद युवराज दुलालले जानकारी दिए।






