Skip to main content

मेलानिया ट्रम्पले ह्वाइट हाउसबाट एपस्टीनसँगको सम्बन्धको आरोप अस्वीकृत गरिन्

मेलानिया ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत जेफ्री एपस्टीनसँग उनको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छिन्। उनले एपस्टीनसँग सन् २००० मा एकपटक मात्र भेट भएको र एपस्टीनकी सहयोगीसँग मात्र सामान्य शिष्टाचारमा सीमित संवाद भएको बताइन्। मेलानियाले एपस्टीनका पीडित महिलाहरूका लागि अमेरिकी कंग्रेसमा सार्वजनिक सुनुवाइको माग गरेकी छिन् र विपक्षी सांसदहरूले उनको मागलाई समर्थन गरेका छन्। २७ चैत, काठमाडौं।

मेलानिया ट्रम्पले बिहीबार ह्वाइट हाउसमा अप्रत्याशित रूपमा बोल्दै दिवंगत यौन अपराधी जेफ्री एपस्टीनसँग आफ्नो कुनै पनि किसिमको सम्बन्ध नरहेको स्पष्ट गरिन्। लामो समयसम्म ओझेलमा रहेकी मेलानियाको यस आकस्मिक उपस्थिति र कडाभाष्यले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याएको छ। पत्रकारहरूसँग कुरा गर्दै उनीले एपस्टीनसँगको सम्बन्ध रहेको भन्ने आरोपहरू पूर्ण रुपमा गलत रहेको र यस्तो भ्रम फैलाउने प्रचार तत्काल बन्द गर्नुपर्ने चेतावनी दिइन्।

अनलाइनमा एपस्टीनले मेलानियालाई डोनल्ड ट्रम्पसँग परिचय गराएको भन्ने हल्लाहरूलाई उनले आफ्नो प्रतिष्ठामा ठेस पुर्याउने ‘दुराशयपूर्ण प्रयास’ भनेकी छिन्। “म एपस्टीनको कुनै गतिविधिमा सहभागी भएँ कहिल्यै छैन र उनीसँग पीडितहरू प्रति दुर्व्यवहारबारे मलाई कुनै जानकारी थिएन,” उनले भनिन्। सन् २००० मा मात्र एकपटक भेट भएको र एपस्टीनकी सहयोगी घिसलेन म्याक्सवेलसँगको इमेल संवाद सामान्य शिष्टाचार मात्र भएको उनको दाबी छ।

मेलानियाले एउटा साहसिक निर्णय गर्दै एपस्टीनको यौन तस्करीबाट पीडित महिलाहरूका लागि अमेरिकी कंग्रेसमा सार्वजनिक सुनुवाइको माग गरेकी छिन्। उनले भनिन्, ‘प्रत्येक महिलाले आफ्नो कथा सार्वजनिक रूपमा व्यक्त गर्न पाउनुपर्छ र उनका बयानहरू संसदीय अभिलेखमा स्थायी रूपमा दर्ता गरिनुपर्छ। त्यसपछि मात्र सत्य बाहिर आउनेछ।’ विपक्षी डेमोक्र्याट सांसद रोबर्ट गार्सियाले मेलानियाको मागलाई समर्थन गर्दै हाउस ओभरसाइट कमिटीका अध्यक्षलाई सार्वजनिक सुनुवाइको तालिका तयार पार्न आग्रह गरेका छन्।

मेलानियाको कदमले ह्वाइट हाउस प्रशासनभित्र पनि केही अन्योल सिर्जना गरेको देखिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई यस विषयमा पूर्वजानकारी नदिएको बताएका छन् भने मेलानियाका प्रवक्ताले राष्ट्रपतिलाई यसबारे थाहा भए पनि विषयवस्तुमा स्पष्ट नभएको जानकारी दिएका छन्। एपस्टीनका पीडितहरूले यो घोषणालाई मिश्रित रूपमा लिएका छन्। पीडित लिसा फिलिप्सले यसलाई ‘साहसिक कदम’ भनेकी छिन् भने कतिपयले यसलाई ‘राजनीतिक नाटक’ मात्रै हुन सक्ने आशंका गरेका छन्। भर्जिनिया जिउफ्रेकका परिवारले भने यसलाई पीडितहरूलाई पुनः बयान दिन लगाउनु न्यायको सट्टा जिम्मेवारीबाट बच्ने बाटो भएको टिप्पणी गरेका छन्। मेलानिया ट्रम्पले यसअघि पनि एपस्टीनसँग आफ्नो नाम जोड्ने लेखक माइकल वोल्फ र केही सञ्चारमाध्यमविरुद्ध मानहानिको मुद्दा लड्दै आएकी छिन्। पछिल्ला समयमा धेरै प्रतिष्ठित व्यवसायीहरू एपस्टीनसँगको सम्बन्धका कारण राजीनामा दिन विवश भएका छन् र मेलानियाको प्रतिक्रिया सोही समयमा आएको हो।