Skip to main content

नेकपा संयुक्तले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही ठहर्यायो

२८ चैत, काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भनेर टिप्पणी गरेको छ। शनिबार सम्पन्न महाधिवेशन आयोजक समिति बैठकले कार्की आयोगको प्रतिवेदनलाई अस्वीकार गर्दै अर्को आयोग गठन गरी भदौ २३ र २४ गतेका घटनाको प्रभावकारी जाँच गर्न माग गरेको छ।

पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरु समावेश गरेर ११ बुँदे निर्णय समावेश गरिएको उल्लेख छ। विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएकोले बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी भदौ २३ र २४ गतेका घटनामा संलग्न अपराधीहरूलाई कारबाही गर्न यो बैठक जोरदार माग गर्दछ।’

त्यस्तै, अर्को बुँदामा २०४८ देखीका उच्च पदस्थ कर्मचारी, राजनीतिक व्यक्ति, न्यायपालिकाका पदाधिकारी तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी प्रतिबन्धात्मक कारबाही गर्न पनि माग गरिएको छ।