
नेपाल बास्केटबल संघ (नेबा) ले नयाँ खेलाडी उत्पादन गर्न १३औं ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। यस कार्यक्रमले एसईई परीक्षा दिएकाहरुलाई लक्षित गरी उत्कृष्ट १२ खेलाडीलाई कक्षा ११ र १२ का लागि स्कलरसिप प्रदान गर्ने उद्देश्य राखेको छ। नेबाले बास्केटबलमा करियर बनाउन चाहने र राष्ट्रिय प्रतिनिधित्व गर्न चाहने युवाहरुलाई टार्गेट गरी स्कुलस्तर देखि खेलाडी उत्पादन गर्ने योजना अघि बढाएको छ।
कार्यक्रम १९ अप्रिलदेखि २० मे सम्म (वैशाख ६ देखि जेठ ६ गते) सञ्चालन हुने जानकारी नेबाका अध्यक्ष भीमसिंह गुरुङले दिएका छन्। उनले बताए, “हामीले स्कुलस्तरबाटै उत्कृष्ट खेलाडी उत्पादन गरौं भन्ने सोचका साथ ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्दैछौं।” यस कार्यक्रममा उत्कृष्ट खेलाडीहरुलाई स्कलरसिप प्रदान गरिनेछ। ब्वाइज ६ र गर्ल्स ६ गरी कुल १२ खेलाडीलाई उत्कृष्ट कलेजहरुमा कक्षा ११ र १२ पढाइका लागि स्कलरसिप उपलब्ध गराइनेछ।
गुरुङले थपे, “एक महिनासम्म चल्ने ट्यालेन्ट हन्ट कार्यक्रममार्फत उत्कृष्ट १२ खेलाडीलाई प्रतिष्ठित कलेजहरुमा अध्ययनका लागि स्कलरसिप प्रदान गरिनेछ।” गत वर्ष पनि नेबाले १२ खेलाडीलाई स्कलरसिपको व्यवस्था गरेको थियो। बास्केटबलमा भविष्य बनाउन चाहने र राष्ट्रिय स्तरमा खेल प्रतिनिधित्व गर्न चाहने युवाहरुलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गरिएको हो।






