महिमानसिंह विष्टलाई ६ महिनाको कैद सजाय, रेसम चौधरीको पक्राउमा संलग्नता पुष्टि

२२ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई लिखित सम्बन्धी अपराधमा दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय सुनाएको छ। विष्टले जारी गरेको नक्कली पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संस्थापक नेता रेसम चौधरी पक्राउ परेका थिए। न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ६ महिनाको कैदका साथै १० हजार रुपैयाँ जरिवाना पनि लगाएको छ।
गत वैशाख १७ गते सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले जारी गरेको पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षण एवं पूर्व सांसद रेसम चौधरी पक्राउ परेका थिए। अदालतमा विचाराधीन विषय टुंगो नलाग्दै चौधरीलाई कैद पठाउने उल्लेख गरिएको पत्र अनधिकृत र गैर कानुनी भएको निर्णयपछि केही घण्टाभित्रै चौधरीलाई रिहा गरिएको थियो। यस घटनापछि उक्त पत्र जारी गर्ने विष्ट पक्राउ परेका थिए।
सर्वोच्च अदालतले कारागार र प्रहरीलाई तत्काल अर्को पत्र पठाएर रेसम चौधरीको रिहाईको बाटो पनि तयार गरिदिएको थियो।






