Skip to main content

केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट छुट्टी भएर भक्तपुरको गुण्डुस्थित निवास पुगेको उनका सचिवालयले जनाएको छ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो । पक्राउपछि काठमाडौं प्रहरीले उनलाई सोही दिन स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । जहाँ स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । प्रहरीले अस्पतालमै हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

त्यसैक्रममा ओलीकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटपछि अदालतको आदेशमा ओली चैत २६ गते हिरासतबाट रिहा भएका थिए । अस्पतालमै प्रहरीले ओलीलाई पत्नी राधिकाको जिम्मेवारीमा राखेर हाजिरी जमानीमा रिहा गरेको थियो । तर, ओलीले त्यो दिन अस्पतालबाट डिस्चार्ज लिनुभएको थिएन । त्यसअघि नै ओलीको पित्तथैलीमा पत्थरी देखिएका थिए । जसको शल्यक्रिया चैत ३० गते गरिएको थियो । त्यसयता ६ दिन अस्पतालमा उपचारपछि उनको डिस्चार्ज गरिएको हो ।