नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा प्रवेश, लखनउको जेविएमसँग उपाधि भिडन्त तय

नाइजेरियन जोन क्लबले नवलपरासीस्थित फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आयोजकले जानकारी दिएका अनुसार नाइजेरियन जोन क्लब र लखनउ स्थित जेविएम फुटबल एकेडेमीबीच आइतबार अपरान्ह ४ बजे फाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख पुरस्कार पाउनेछन्।
५ बैशाख, नेपालगन्ज। विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको फाइनल प्रवेश गर्ने दोस्रो टोली बनेको छ। शनिबार सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै नाइजेरियन टोली ‘एम्टी एरिना’ फाइनल पुगेको हो। नाइजेरियन तर्फबाट ३९औं मिनेटमा ताजुदिन अकिनसोला र ७८औं मिनेटमा ओेलाबी अफिजले गोल गरेका थिए। फोर ब्रदर्सको रणनीति भङ्ग गर्दै अभिषेक महतोले एक गोल फर्काए।
खेलमा नाइजेरियन जोनका ३ खेलाडी र फोर ब्रदर्सका २ खेलाडीले पहेँलो कार्ड पाए। फाइनल प्रवेशसँगै नाइजेरियन टोलीले जेविएम फुटबल एकेडेमी लखनउसँगको उपाधि भिडन्त तय गरिसकेको छ। दुवै विदेशी टोली हुन्। फाइनल खेल आइतबार अपरान्ह ४ बजे सुरु हुने बताइएको छ, जसको सूचना प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले दिएका छन्।
नाइजेरियन जोन क्लबले नकआउट चरणमा सशस्त्र प्रहरीलाई हार दिंदै ३–० गोल अन्तरले सेमिफाइनल प्रवेश गरेको थियो भने आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब खजुरालाई १–० गोल अन्तरले हराउँदै जेविएमले सेमिफाइनलसम्मको यात्र तय गरेको थियो। खजुरा-४, डि-गाउँस्थित मिनी रंगशालामा प्रतियोगिता चलिरहेको छ। प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्स एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरियास्थित गरी आठ टोली सहभागी छन्।






