
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले आइटिटिएफ एटिटियु दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक हासिल गरेका खेलाडीहरूलाई सम्मान गरेको छ। एकेडेमीले निश्चल थापा र सुरम्या शाक्यलाई नगद, स्मार्ट वाच र प्रमाणपत्रसहित सम्मान गरेको हो। ५ बैशाख, काठमाडौं।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले शनिबार निश्चल र सुरम्यालाई सम्मान गरेको थियो। उनीहरूले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जितेका थिए। अखिल नेपाल टेबलटेनिस संघका पूर्व उपाध्यक्ष गोवर्धन श्रेष्ठ, सुमन खड्गी र एसियाली टेबलटेनिस युनियनका उपाध्यक्ष शंकर गौतमले उनीहरूलाई सम्मान गरेका थिए। यस अवसरमा प्रशिक्षक राकेश महर्जनलाई पनि सम्मान गरिएको थियो।
प्रतियोगिता भारतको सिमलामा ८ देखि ११ अप्रिलसम्म सञ्चालन भएको थियो। नेपालले यु-१५ महिला र पुरुष तथा यु-१९ महिला डबल्समा सहभागिता जनाएको थियो। नेपालले कुल तीन रजत र सात कांस्य पदक जितेको थियो। निश्चलले यु-१५ ब्वाइज डबल्समा एक रजत र यु-१५ ब्वाइज टिममा एक कांस्य पदक जितेका थिए भने सुरम्याले यु-१५ गर्ल्स डबल्समा एक रजत र यु-१५ गर्ल्स टिममा एक कांस्य पदक हात पारेका थिए।






