Skip to main content

उद्योग विभागको निर्णय: चिउरामा ‘कुरुम कुरुम’ ब्रान्ड लेख्ने अधिकार हाइलाइफलाई

उद्योग विभागले हाइलाइफ र सिक्सभिल्ला ट्रेडमार्क विवादमा चिउरामा ‘कुरुम कुरुम’ ब्रान्ड लेख्ने अधिकार हाइलाइफलाई दिएको छ। सिक्सभिल्ला प्रालिको दर्ता रद्द गर्दै विभागले हाइलाइफको ब्रान्ड मौलिक र बजारमा स्थापित भएको ठहर गरेको छ। यो निर्णयले बौद्धिक सम्पत्ति संरक्षण र उपभोक्ता हितको सुरक्षा कति महत्वपूर्ण छ भन्ने सन्देश समेत दिएको छ। ६ वैशाख, काठमाडौं।

चिउरामा ‘कुरुम कुरुम’ ब्रान्ड लेख्ने अधिकार हाइलाइफले पाएको छ। उद्योग विभागले हाइलाइफ र सिक्सभिल्ला बीचको ट्रेडमार्क विवादमा कुरुम कुरुम ब्रान्डको अधिकार हाइलाइफकै भएको फैसला गरेको हो। हाइलाइफ उत्पादन गर्ने नेपाल एभरेस्ट फुड एन्ड स्न्याक्स प्रालि र सिक्सभिल्ला प्रालिबीच लामो समयदेखि चलेको व्यापारिक चिन्ह सम्बन्धित विवादमा विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्ला प्रालिको दर्ता रद्द गरेको हो।

विभागले दुवै पक्षका प्रमाण, तर्क र सर्वोच्च अदालतका उदाहरणहरू अध्ययन गरी यस्तो फैसला गरेको हो कि चिउरामा ‘कुरुम कुरुम’ ब्रान्ड अधिकार हाइलाइफकै हो। विवादको केन्द्रमा छलफल भएको विषय नेपाल एभरेस्ट फुड एन्ड स्न्याक्स प्रालिले प्रयोग गर्दै आएको ‘हाइलाइफ’ नामक व्यापारिक चिन्ह, त्यससँग सम्बन्धित लेबल, डिजाइन, रङ संयोजन र समग्र प्रस्तुति थियो। उजुरीकर्ताले सिक्सभिल्ला प्रालिले सोही चिन्हको रूप, बनावट र प्रस्तुति हालेको आरोप लगाएको थियो।

उद्योग विभागले दुवै पक्षको दाबी, पेश भएका कागजात र दृश्य प्रमाणहरू अध्ययन गर्दा सिक्सभिल्लाले दर्ता गरेको ट्रेडमार्क हाइलाइफसँग अत्यधिक मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेको छ। विशेष गरी लेबलको बनावट, रङ संयोजन, अक्षर शैली, वस्तुको प्रस्तुति र समग्र बाहिरी स्वरूपमा उल्लेखनीय समानता विभागले देखाएको छ। ‘व्यापारिक चिन्हको मुख्य विशेषता फरक पहिचान हुनु हो, यदि कुनै चिन्हले बजारमा अलग पहिचान बनाउन सक्दैन वा पहिले नै स्थापित चिन्हसँग मिल्दोजुल्दो देखिन्छ भने त्यसलाई वैध मान्न सकिँदैन,’ उद्योग विभागको फैसलामा भनिएको छ।