Skip to main content

अमेरिकाको लुजियाना राज्यमा गोली प्रहारबाट ८ बालबालिकाको हत्या

७ वैशाख, काठमाडौं। अमेरिकाको लुजियाना राज्यमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको खबर आएको छ। मृत्यु हुनेहरु १ देखि १४ वर्षका उमेर समूहका छन्। गोली चलाउने व्यक्ति पनि प्रहरीको कारबाहीमा मारिएका छन्। प्रहरीले यस घटनालाई ‘घरेलु विवाद’ (डोमेस्टिक डिस्टर्बेन्स) को परिणामका रूपमा व्याख्या गरेको छ। स्थानीय समय अनुसार बिहान करिब ५ बजे सुरु भएको घटनामा एक जना बन्दुकधारीले १० जनामाथि गोली प्रहार गरेका थिए। त्यसपछि उनी चोरी गरिएको गाडी चढेर फरार भएका थिए। प्रहरीले उनलाई पछ्याएर आक्रमणकारीलाई गोली हानी मारिएको जनाएको छ। सो गोलीकाण्डमा केही घाइतेसमेत भएका छन्। तर प्रहरीले मृतक र घाइतेहरूको पूर्ण विवरण सार्वजनिक गरेको छैन। घटनामा घाइते भएका केहीलाई अस्पताल लगिएको छ। प्रहरीले घटना केवल एक ठाउँमा नभई वेस्ट ७९ औं स्ट्रिटका दुई घर र ह्यारिसन स्ट्रिटस्थित अर्को घरसहित तीन स्थानमा भएको जनाएको छ। अधिकारीहरूले यो घटनालाई इतिहासकै सबैभन्दा दुःखद भनेका छन्। आक्रमणकारीको पहिचान शमर एल्किन्सको रूपमा गरिएको छ। उनी एक व्यक्तिको गाडी कब्जा गरी भाग्ने प्रयास गरेका थिए। प्रहरीले उनलाई बोसियर पारिस क्षेत्रमा पछ्याएर गोली प्रहार गरेको थियो।