मण्डला थिएटरले १८ देखि ३५ वर्ष उमेर समूहका लागि निःशुल्क थिएटर प्रोडक्सन प्रक्रिया कार्यशाला सञ्चालन गर्ने

मण्डला थिएटरले १८ देखि ३५ वर्ष उमेर समूहका १५ युवा रंगकर्मीका लागि निःशुल्क थिएटर प्रोडक्सन प्रक्रिया कार्यशाला सञ्चालन गर्न लागेको छ। नेपाली रंगमञ्च प्रवर्द्धनमा सक्रिय यो थिएटरले बुधबार सूचना जारी गर्दै इच्छुक युवाहरूबाट आवेदन माग गरेको छ। विशेषगरी १८ देखि ३५ वर्ष उमेरसमूहका १५ जना युवा रंगकर्मीहरूलाई लक्षित गरेर यो कार्यशाला आयोजना गरिंदैछ। सहभागी हुन चाहनेले कम्तीमा दुईवटा नाटकमा काम गरेको अनुभव आवश्यक हुनेछ।
६ हप्तासम्म चल्ने यस कार्यशालामा सहभागीहरूले अनुभवी नाट्यकर्मीहरूको प्रत्यक्ष मार्गदर्शनमा नाटक निर्माणको सम्पूर्ण प्रक्रिया सिक्ने अवसर पाउनेछन्। अभिनय, निर्देशन, सेट तथा कस्ट्युम डिजाइन, प्रकाश, ध्वनि/संगीत, प्रचार-प्रसार र दस्तावेजीकरण जस्ता पक्षमा विशेष सीप विकास गर्ने मण्डला थिएटरले जनाएको छ। कार्यशालाको प्रारम्भिक ३ हप्तामा आधारभूत तालिम र प्रारम्भिक निर्माण प्रक्रियामा जोड दिइने छ।
यस कार्यशालाको मुख्य उपलब्धिको रूपमा युवाका मुद्दामा आधारित एक नाटक तयार पारिने छ, जुन मण्डला थिएटरको ‘स्मल हल’ मा नियमित रूपमा मञ्चन गरिने योजना छ। सहभागीहरूलाई निःशुल्क तालिमसँगै खाजा, प्रमाणपत्र र पेशागत रंगमञ्चमा काम गरेको अनुभवसमेत प्रदान गरिनेछ। टिकट बिक्रीबाट प्राप्त आम्दानीको व्यवस्थापन पारदर्शी गरिनेछ। प्रारम्भिक आम्दानीबाट हल भाडा र निर्माण खर्च कटाएपछि बाँकी नाफा ६० प्रतिशत मण्डला थिएटर र ४० प्रतिशत सहभागी कलाकार तथा प्रोडक्सन टिमलाई वितरण गरिनेछ।
यो परियोजना आगामी जेठ १ गतेबाट असार ५ गतेसम्म आइतबारदेखि शुक्रबारसम्म दिउँसो १२ बजे देखि ५ बजेसम्म सञ्चालन हुनेछ। इच्छुक रंगकर्मीहरूले २०८३ वैशाख २२ गतेभित्र आवेदन बुझाइसक्नु पर्नेछ। प्राप्त आवेदनबाट संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूलाई मात्र दोस्रो चरणको छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ।






