Skip to main content

गोरखाको फिलिम–लार्केपास पदमार्गमा आजदेखि ५ दिनसम्म खच्चड हिँडाउन प्रतिबन्ध

फाइल फोटो समाचार सारांश: चुमनुब्री गाउँपालिकाको फिलिम–लार्केपास पदमार्गमा वैशाख ८ देखि १२ गतेसम्म खच्चड आवतजावतमा रोक लगाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले पदमार्गमा ढलान तथा रेलिङको निर्माणका कारण रोक लगाइएको जानकारी दिएका छन्। खच्चड व्यवसायीलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ। ८ वैशाख, गोरखा।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने फिलिम–लार्केपास पदमार्गमा आजदेखि पाँच दिनसम्म खच्चड आवतजावतमा रोक लगाइएको छ। यस पदमार्गको स्तरोन्नतिको क्रममा खच्चड आवतजावतमा प्रतिबन्ध लगाइएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले वडा नं ५ राना गाउँस्थित फिलिम–लार्केपास पदमार्गमा ढलान र रेलिङ निर्माण भइरहेकाले आज मङ्गलबारदेखि खच्चड हिँडाउन रोक लगाइएको बताएका छन्।

‘वैशाख ८ देखि १२ गतेसम्म खच्चड आवतजावत गर्नुपर्ने भए वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ। पैदलमार्ग स्तरोन्नति सम्पन्न भएसँगै पुनः सहज बनाइनेछ,’ उनले भने। चुमनुब्री गाउँपालिकामा दैनिक उपभोग्य वस्तु, खाद्यान्न र निर्माण सामग्री पनि खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता अझै कायम छ। गाउँपालिकाले खच्चड व्यवसायीलाई पनि उक्त पाँच दिनका लागि खच्चड आवतजावत बन्द गर्न अनुरोध गरेको छ।