Skip to main content

अमेरिकाले इरानसँगको युद्धविराम अवधि लम्ब्यायो, पाकिस्तानको आग्रहमा आक्रमण स्थगित

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन्। ट्रम्पले युद्धविराम विस्तार गर्ने निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा लिएको बताएका छन्। इरानले अमेरिकी नाकाबन्दीलाई युद्धको कार्य भन्दै युद्धविराम उल्लंघनको आरोप लगाएको छ। ९ वैशाख, काठमाडौं। ट्रम्पले तेहरानलाई युद्ध अन्त्य गर्न थप प्रस्ताव ल्याउन समय दिन आक्रमण स्थगित गर्ने जनाएका छन्। मंगलबार गरिएको निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पले बताएका छन्। यसअघि ट्रम्पले बुधबारसम्म इरान सहमतिमा नआए आक्रमण गर्ने धम्की दिएका थिए। उनले युद्धविराम अवधि लम्बिए पनि इरानमाथिको नाकाबन्दी जारी रहेको बताएका छन्।

‘म हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र सबै हिसाबले तयार रहन निर्देशन दिइसकेको छु,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनहरूको प्रस्ताव आउँदासम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ।’ तर युद्धविराम कति समयसम्म लम्बिएको छ भन्ने कुरा ट्रम्पले भने खुलाएका छैनन्। युद्धविराम विस्तार ट्रम्प प्रशासनको अचानक निर्णय परिवर्तनको उदाहरण बनेको छ। सामाजिक सञ्जालमा उक्त घोषणा गर्नुअघि केही घण्टामै ट्रम्पले युद्धविराम नलम्ब्याउने र इरानमाथि ठूला आक्रमण गर्ने चेतावनी दिएका थिए।

इरानी अधिकारीहरूले अमेरिकाले इरानका बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दीको आलोचना गरेका थिए, जसले बुधबार तय वार्तामा उनीहरूको सहभागिता अनिश्चित बनाएको थियो। पछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम लम्ब्याउने निर्णयका लागि ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै इस्लामाबादले द्वन्द्व समाधानका लागि कूटनीतिक पहल निरन्तर राख्ने बताएका छन्। ‘म आशा गर्छु दुवै पक्षले युद्धविरामको पालना जारी राख्नेछन् र इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट स्थायी समाधान निकाल्नेछौँ,’ शरीफले ट्विटरमा लेखेका छन्।

तर नौसैनिक नाकाबन्दी जारी रहेकाले मात्र युद्धविराम विस्तारले इरानलाई वार्तामा ल्याउन पर्याप्त छ कि छैन भन्ने विषय अझै अनिश्चित छ। ट्रम्पको उक्त वक्तव्यप्रति इरानले तत्काल प्रतिक्रिया दिएको छैन। तेहरानस्थित अर्धसरकारी तास्निम समाचार एजेन्सीले धारणा पछि औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ। यसअघि मंगलबार, इरानका विदेशमन्त्री अब्बास अराघचीले नाकाबन्दीलाई ‘युद्धको कार्य’ भन्दै विद्यमान युद्धविरामको उल्लघन भएको टिप्पणी गरेका थिए। ‘इरानलाई प्रतिबन्ध निष्प्रभावी बनाउने, आफ्ना हित संरक्षण गर्ने र दबाब सामना गर्ने तरिका थाहा छ,’ अराघचीले लेखेका छन्।

‘नेतृत्व विभाजन’ सम्बन्धी ट्रम्पको दाबी ‘गलत बुझाइ’ भएको बताउँदै इरानमा नेतृत्व एकीकृत रहेको उल्लेख गरिएको छ। खामेनीको स्थानमा उनका छोरा मोज्तबा खामेनी आएका छन्, जसले गत महिना नियुक्त भएदेखि सार्वजनिक रूपमा उपस्थिति जनाएका छैनन्। अप्रिल ८ मा इरान र अमेरिकाबीच दुई साता लामो प्रारम्भिक युद्धविराम भएको थियो, तर लेबनानको समावेश र स्त्रेट अफ होर्मुजको नियन्त्रण जस्ता विषयमा मतभेदले तनाव कायमै राखेको छ। युद्ध अन्त्यका लागि अमेरिका इरानको आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्न, क्षेप्यास्त्र उत्पादन सीमित गर्न र हिज्बोल्लाह तथा हमासजस्ता क्षेत्रीय सहयोगीलाई दिएको समर्थन रोकिनुपर्ने अडानमा छ। तर तेहरानले शान्तिपूर्ण प्रयोजनका लागि घरेलु रूपमा युरेनियम समृद्धि गर्ने अधिकारमा अडान लिएको छ।