
९ वैशाख, काठमाडौं। टुटफुटको सामना गरिरहेका नेपालका कम्युनिष्ट पार्टीहरूले आज स्थापना दिवस मनाइरहेका छन्। ७७ वर्ष अघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेता मध्ये निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ रहेका थिए। यद्यपि, यो पार्टी स्थापनाको क्रममा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी जस्ता नेताहरू पनि संलग्न थिए। नेपालमा जहानियाँ राणाशासनको अवधिमा भूमिगत रूपमा स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीले सामन्तवाद, दलाल–नोकरशाही पूँजीवाद र साम्राज्यवादबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने लक्ष्य राखेको थियो। कम्युनिष्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी र तेस्रो महासचिव तुलसीलाल अमात्य थिए। यस क्रममा कांग्रेस नेतृत्वको सरकारले २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीले चार सिट जितेको थियो। तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेपछि नेपाल कम्युनिष्ट पार्टी पुनः प्रतिबन्धित भयो। त्यस क्रममा केशरजंग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि पार्टी विभाजित भयो। विभाजनका बीचमा झापामा तत्कालीन झापाली क्रान्तिकारीहरूले ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्तिमार्फत नेकपा माले र हालको एमालेको रूप लिएको थियो। पुष्पलाल र मनमोहनहरूको समूह अन्ततः एमाले धारामा २०४७ पछि एकीकृत भयो। मोहनविक्रम सिंह, निर्मल लामाहरूले नेतृत्व गरेका विभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मसाल, नेकपा एकताकेन्द्र हुँदै अहिलेको माओवादी धारामा परिणत भएका छन्। यद्यपि मोहनविक्रम सिंह अझै पनि पातलो मसालको नेतृत्व गर्दै छन्। २०१५ सालमा चार सिट जितेर अस्तित्वमा आएको नेपाल कम्युनिष्ट पार्टी पञ्चायतकालमा विभिन्न धारामा विभाजित भएको थियो। २०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालीन जनमोर्चा र अहिलेको माओवादी ९ सिटसहित तेस्रो दल बनेको थियो। २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि संसदीय राजनीतिलाई छाड्यो। माओवादीले २०५१ सालमा आम निर्वाचन बहिष्कार गर्दा एमाले ८८ सिटसहित पहिलो पार्टी बने र दक्षिण एशियामा पहिलो कम्युनिष्ट एकल सरकार गठन गर्यो। २०५४ सालमा एमाले विभाजित भए पछि २०५६ सालको आम निर्वाचनमा ७० सिटसहित एमाले पुन: दोस्रो दल बन्यो। ऐतिहासिक जनआन्दोलनपश्चात् २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बनेको थियो। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बने। यसबीचमा नेपाल कम्युनिष्ट पार्टीबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन्। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत सिट जित्न सफल भए। यो नेपाल कम्युनिष्ट पार्टी स्थापनाको करिब ७० वर्षकै इतिहासमै सबैभन्दा ठूलो सफलता थियो। चुनावी गठबन्धनपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो। नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला सर्वोच्च अदालतले यी दुई पार्टीबीचको एकता रद्ध गरिदिएपछि अहिले एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन्। त्यतिबेला सरकारको नेतृत्व गर्दै आएको नेकपा एमाले पनि विभाजित भयो। एमालेबाट अलग भएर माधव कुमार नेपालले आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरे। उनले आफूसहित २८ जना केन्द्रीय सदस्यलाई समेटेर २०७८ साल भदौ २ गते निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ता गराएका छन्। गत भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा आएको उल्लेखनीय परिवर्तनसँगै नेपालका कम्युनिष्ट पार्टीहरूमा एकता र ध्रुवीकरण देखिएको छ। २०८२ कात्तिक १९ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसहित १० कम्युनिष्ट घटक एकताबद्ध भएर ‘नेपाली कम्युनिष्ट पार्टी’ घोषणा गरे। पार्टीको संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल भए। पछि यस पार्टीमा करिब एक दर्जन साना समूहहरू मिसिए। तर २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा नयाँ दल रास्वपा एक्लैले १८२ सिट जित्यो। नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी जम्मा १७ सिट मात्र जित्यो। नेकपा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट जित्यो। निर्वाचन लगत्तै गठन भएको बालेन नेतृत्वको नयाँ सरकारले जेनजी आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्यो। अहिले प्रचण्डसहितका शीर्ष नेताहरू सम्पत्ति शुद्धीकरण लगायतका अनुसन्धानको रडारमा छन्। चुनावमा खस्किँदो परिणाम र शीर्ष नेताहरूका विवादित काण्डका कारण कम्युनिष्ट पार्टीहरू अस्तित्व रक्षाको चुनौतीपूर्ण अवस्थामा छन्। त्यसैले कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले नेपालको समग्र कम्युनिष्ट आन्दोलन पुनर्गठन आवश्यक रहेकोमा जोड दिएका छन् र त्यसका लागि आह्वान समेत गरेका छन्। आन्तरिक विवादले कम्युनिष्ट पार्टीहरू टुक्राटुक्रामा विभाजित हुँदा र एकताका प्रयासले सफलता नपाउँदा नेता र कार्यकर्ताहरू निराश छन्। अर्कोतर्फ नेताहरूमा कम्युनिष्ट आचरण र व्यवहारको कमीले आम जनमानसमा उनीहरूप्रति वितृष्णा बढाएको छ।





