
भारतसँगको सीमावर्ती रुपैडिहा बजारमा भारु ९७ रुपैयाँ अर्थात् नेपाली १५५ रुपैयाँ २० पैसामै एक लिटर पेट्रोल पाइन्छ। उत्तर प्रदेशको रुपैडिहा वारिपट्टिको नेपालगन्जमा पेट्रोलको मूल्य २१६ रुपैयाँ ५० पैसा छ। अर्थात् खुला सीमाबाट भारततर्फ छ किलोमिटर यात्रा गर्दा नेपालभन्दा ६१ रुपैयाँ सस्तोमा पेट्रोल पाइन्छ। नेपालका सीमावर्ती भारतीय बजारमा नेपाली बजारभन्दा ५० देखि ६० रुपैयाँसम्म सस्तो पेट्रोल पाइने भएपछि सीमा क्षेत्रका भारतीय पम्पहरूमा इन्धन भर्न नेपाली सवारी साधनहरूको भीड नै लाग्न थालेको बताइएको छ। तर नेपालभन्दा सस्तो भए पनि नेपालमा जस्तो भारतीय पेट्रोल पम्पहरूमा सहजै इन्धन भर्न नपाइने अनुभवीहरूले बताएका छन्। भारतमै इन्धन अभाव हुँदा सस्तोमा इन्धन पाइने लोभमा त्यहाँ पुगेका कतिपय नेपालीहरू घण्टौँ लाम बस्न बाध्य भएका त कोही रित्तै फर्कनु परेको भुक्तभोगीहरूले सुनाउँछन्।
नेपालगन्जको सीमापारि रहेको रुपैडिहा बजारका कतिपय पेट्रोल पम्पहरूमा डिजेल र पेट्रोल नरहेको सूचना टाँस गरिएको छ। पेट्रोल वितरण भइरहेका पम्पहरूमा गाडी र मोटरसाइकलको लामो लाइन देखिन्छ। नेपालगन्जको जमुनाहा नाकासँग जोडिएको रुपैडिहाको एक पेट्रोल पम्पमा भेटिएका सीएल चौधरीले डेढ घण्टा लाइनमा बसेर भारतीय रुपैयाँ एक हजारको पेट्रोल पाएको बताए। उनले भने, “सुरुमा लाइनमा बस्दा लाइनमै रहेका भारतीय नागरिकहरूले नेपाली नम्बरको मोटरसाइकललाई पेट्रोल दिँदैन भनेका थिए, मैले सिधै पम्पको मान्छेलाई सोधेँ र ‘दिन्छु’ भनेपछि टन्टलापुर घाममा करिब डेढ घण्टा लाइनमा बसेँ।”
भारतले मार्च २७ मा पेट्रोल र डिजेलमा १० रुपैयाँ भारु अन्त शुल्क घटाउने निर्णय गरेको थियो। भारतको पेट्रोलियम र ग्यास मन्त्रालयका अनुसार भारतमा पेट्रोलमा प्रतिलिटर २६ रुपैयाँ भारु र डिजेलमा ८१ रुपैयाँ ९० पैसा भारु घाटा बेहोरेर त्यहाँको सरकारले इन्धन बिक्री गरिरहेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतमा इन्धन सस्तो भएको कारण भनेको घाटा बेहोरेर बिक्री गरिरहेको र कर छुट दिएका कारण हो। नेपालमा इन्धनको मूल्य महँगो भएको भन्दै कतिपय विद्यार्थी सङ्गठनदेखि राजनीतिक दलहरूले पनि सहुलियत दिन सरकारसँग माग गरिरहेका छन्।





