गर्भपतन गराउने क्रममा नर्सिङ होम र क्लिनिक धाउँदा २९ वर्षीया महिलाको मृत्यु

८ वैशाख, बुटवल । गर्भपतन गराउन नर्सिङ होम र क्लिनिक गरी चार वटा स्वास्थ्य संस्था धाउँदै गर्दा पाल्पाकी २९ वर्षीया महिलाको ज्यान गएको छ । गर्भपतन गराउन विभिन्न स्वास्थ्य संस्था धाउने क्रममा पाल्पा बगनासकाली गाउँपालिका-२ की गीता पाण्डेको मृत्यु भएको हो । करिब १२ हप्ताको बच्चा अस्वस्थ भएको भन्दै गीता ५ वैशाखमा श्रीमान्सहित बुटवल इँटाभट्टीमा रहेको खत्री नर्सिङ होम गएकी थिइन् । उनलाई यसअघि २७ चैतमा जाँचका लागि खत्री नर्सिङ होम ल्याइएको थियो । त्यहाँका डा. डीबी खत्रीले गर्भ असामान्य भएको बताउँदै ४ वैशाखका लागि बोलाएका थिए। गीता ५ वैशाखमा खत्री नर्सिङ होम गइन्। नर्सिङ होमले लोकेसन म्यापसहित बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठायो। त्यहाँ फार्मेसीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर दुईथरी औषधि दिई पठाएको गीताका श्रीमान् प्रकाश पाण्डेले बताए। जोनलबाट इन्दु लेखा क्लिनिकमा पुर्याई गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको प्रकाशले जानकारी दिए। इन्दु लेखा क्लिनिकमा डा. सतिश रुपाखेतीले चेकजाँच गरेको उनले बताए। ‘जोनल फार्मेसीले दुई वटा औषधि दिई पठाएको थियो। फार्मेसीले भनेबमोजिम साँझ १ गोली र बिहान १ गोली खाएको हो। अर्को दिन बोलाएकै समयमा जोनल फार्मेसीमा गयौं, फेरि अर्को औषधि दिए,’ प्रकाशले भने, ‘कुनै फारम भराएका थिएनन्। फार्मेसीमै २ घण्टा रेस्ट गर्न भने। तर २ घण्टापछि पछाडिको बाटो हुँदै इन्दुलेखा क्लिनिकमा लगे। त्यहाँ मलाई बाहिर राखी गीतालाई भित्र कोठामा लगेर के-के गराए थाहा छैन।’ गीताका श्रीमान् प्रकाशले गर्भपतन गराइएको भ्रुण आफूले नदेखेको भन्दै श्रीमती बेहोस् भइसकेपछि आफूलाई कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पतालको इमर्जेन्सी कक्षमा लैजाँदा डाक्टरले मृत घोषित गरेको बताए। श्रीमतीको मृत्युलाई श्रीमान् प्रकाशले स्वास्थ्य संस्थाहरूले उपचारको नाममा चरम लापरबाही र व्यापार गर्ने क्रममा हत्या गरेको आरोप लगाएका छन्। उनले जोनल फार्मेसीले लोकेसन कार्ड र अन्य उपचारका रिपोर्टहरू लुकाएको बताएका छन्। ‘आर्थिक लाभ लिने उद्देश्यले मिलेमतोमा अनधिकृत रूपले भ्रुण तुहाउने आपराधिक जालो खडा गरी बदनीयतपूर्वक लापरबाही गरिएको छ। मैले न्याय पाउनुपर्छ,’ प्रकाशले भने, ‘कर्तव्यबाट मृत्यु भएकोले किटानी जाहेरी दिएको छु।’ प्रकाशले श्रीमती गीताको मृत्युमा मुख्य दोषी आरोप लगाउँदै डा. डीबी खत्री र डा. सतिश रुपाखेतीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। दुई डाक्टर बाहेक सन्ध्या बस्नेत (जोनल फार्मेसी/क्लिनिक सञ्चालक), निलम घर्ती मगर (जोनल फार्मेसी), खगेन्द्रप्रसाद पाण्डे (इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक) लाई पनि कारबाहीको माग गर्दै उनले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन्। जाहेरी दर्तापछि प्रहरीले तीन जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए । पक्राउ परेकाहरूमा सन्ध्या बस्नेत, निलम घर्तीमगर र खगेन्द्र पाण्डेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मृतकका आफन्तहरूले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा तालाबन्दी गरेका छन्। मृतक गीता रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी हुन्।





