वैदेशिक रोजगार व्यवसायी संघमा विवाद चर्किँदै, अध्यक्षसँग स्पष्टीकरण मागियो

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा अध्यक्ष भुवन सिंह गुरूङ र महासचिव महेश बस्नेतबीच विवाद बढेको छ। महासचिव बस्नेतसहित कार्यसमिति सदस्यहरूले अध्यक्ष गुरूङलाई सल्लाहकार पदमुक्त गर्ने निर्णयको बारेमा स्पष्टीकरण सोधेका छन्। अध्यक्ष गुरूङले आरोपहरूलाई निराधार र भ्रमपूर्ण भन्दै संघ विधि, विधान अनुसार काम भइरहेको बताएका छन्। ९ वैशाख, काठमाडौं।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा विवादहरू तीव्र हुँदैछन्। अध्यक्ष र महासचिवसहितका पदाधिकारीहरूबीचको विवादले संकटपूर्ण स्वरूप लिएको छ। महासचिव महेश बस्नेतसहित केही कार्यसमिति सदस्यहरूले अध्यक्ष भुवन सिंह गुरूङलाई स्पष्टीकरण मागेका छन्। अध्यक्ष गुरूङले दुई जना सल्लाहकार सदस्यलाई पदमुक्त गरेपछि संघमा दुई भिन्न समूहमा विभाजित सदस्यहरू एकअर्काविरुद्ध आरोपहरू लगाउन थालेका छन्।
बुधबार महासचिव बस्नेतसहितका केही सदस्यहरूको बैठकले अध्यक्ष गुरूङलाई स्पष्टीकरण माग्यो। सो स्पष्टीकरणमा संघको कार्यप्रणाली, निर्णय प्रक्रिया र सल्लाहकार सम्बन्धी विवाद, गुनासा र गम्भीर प्रश्नहरू उठेका कारण स्पष्टिकरण आवश्यक रहेको उल्लेख गरिएको छ। अध्यक्ष गुरूङमाथि कार्यसमिति सदस्यहरूलाई आवश्यक जानकारी नदिई निर्णय प्रक्रिया अघि बढाएको, औपचारिक बैठक नबुलाएर अनौपचारिक रूपमा निर्णय गरेको जस्ता आरोपहरू लगाइएको छ।
सल्लाहकारहरूको पदमुक्ति पनि विवादको विषय बनेको छ। कार्यसमितिले विशेष गरी २०८३ वैशाख ६ गते भएको भनिएको बैठकको स्थान, समय, बैठक कसरी भएको, आधिकारिक अभिलेख, उपस्थित सदस्य संख्या, सूचना पठाउने प्रक्रिया, छलफलका विषयहरू र निर्णय बहुमत वा सर्वसम्मत कसरी भएको भन्नेबारे स्पष्ट विवरण मागेको छ। महासचिव बस्नेतले अध्यक्ष गुरूङले दुई जना सल्लाहकारलाई कुनै जानकारी नदिई हटाएको कानुन विपरीत भएको बताएका छन्। उनले भने, ‘उहाँले आफ्नो र आफ्नो संस्थाको व्यक्तिगत हितका लागि मात्र काम गर्दै आएको संघका सदस्यहरूले पटक–पटक सचेत गराउँदै आएका छन्।’
अर्कोतर्फ, अध्यक्ष गुरूङले आफूमाथि लागेको आरोपहरू निराधार, भ्रमपूर्ण र योजनाबद्ध रूपमा सिर्जित भएको बताएका छन्। उनले व्यवसायीहरूलाई यस्ता अफवाहमा नलाग्न अनुरोध गरेका छन्। संघ विधि, विधान र संस्थागत प्रक्रियाअनुसार पूर्ण रूपमा काम भइरहेको उल्लेख गर्दै उनले भने, ‘कार्यसमितिको स्पष्ट बहुमत हाम्रो पक्षमा छ, त्यसैले यस्ता गतिविधिहरूले संगठनमा कुनै असर पार्दैन।’






