Skip to main content

गुगल वालेटमा अब लकस्क्रिनमा उडानको प्रत्यक्ष जानकारी देखिने

गुगल वालेटले हवाई यात्राका लागि ‘लाइभ अपडेट्स’ फिचर थप गरेको छ, जसले उडानको वास्तविक समय जानकारी प्रदान गर्नेछ। एन्ड्रोइड १६ वा सोभन्दा नयाँ अपरेटिङ सिस्टम प्रयोग गर्नेहरूले फोनको लकस्क्रिनमा उडान समय र अवतरण अनुमान हेर्न सक्नेछन्। यो फिचरले उडान ढिलाइ, गेट परिवर्तन वा रद्द हुने जानकारी बारम्बार इमेल वा एप हेर्न नपर्ने गरी उपलब्ध गराउनेछ।

९ वैशाख, काठमाडौं। गुगल वालेटले आफ्नो सेवालाई अझ परिष्कृत गर्दै हवाई यात्रा गर्ने प्रयोगकर्ताहरूका लागि नयाँ ‘लाइभ अपडेट्स’ फिचर थप गरेको छ। यसअघि क्रेडिट कार्ड, सरकारी परिचयपत्र र इभेन्ट टिकटहरू सुरक्षित राख्न प्रयोग गरिने यो वालेटले अब उडानको पछिल्लो अवस्थाबारे वास्तविक समयमा जानकारी दिनेछ।

एन्ड्रोइड १६ वा सोभन्दा नयाँ अपरेटिङ सिस्टम चलाउनेहरूका लागि यो फिचर विशेष उपयोगी हुनेछ, जसले प्रयोगकर्तालाई आफ्नो फोनको लकस्क्रिन वा ‘अलवेज-अन डिस्प्ले’ मा जहाज उड्ने समय, उडान अवधि र अवतरण अनुमानित समय सजिलै हेर्न सक्ने सुविधा दिनेछ। हवाई यात्राको क्रममा अन्तिम समयमा हुन सक्ने उडान ढिलाइ, गेट परिवर्तन वा उडान रद्द हुने जस्ता अनपेक्षित परिवर्तनहरूको जानकारी पाउन अब बारम्बार इमेल वा विभिन्न एपहरू हेर्नु पर्ने छैन।

प्रयोगकर्ताले जहाजको टिकट बुक गरिसँगै वालेटमा क्यूआर कोडसँगै उडान सम्बन्धी सबै अत्यावश्यक विवरणहरू उपलब्ध हुनेछन्। व्यस्त यात्राको समयमा छिटो र सजिलो रूपमा जानकारी प्राप्त गर्न यो फिचरले निकै मद्दत गर्नेछ। यस सुविधाको पूर्ण लाभ लिनका लागि एन्ड्रोइड १६ प्रयोगकर्ताहरूले आफ्नो गुगल वालेट र सम्बन्धित सेवाहरू अपडेट गर्न आवश्यक पर्नेछ।