Skip to main content

पश्चिम बंगाल निर्वाचनमा अमित शाहको दावी: ‘दिदी जानेवाली छिन्’

११ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा बिहीबार पहिलो चरणको मतदान सम्पन्न भएको छ । पहिलो चरणको मतदानपश्चात केन्द्रीय गृहमन्त्री तथा भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता अमित शाहले पहिलो चरणमा सम्पन्न १५२ सिटमध्ये आफ्नो पार्टीले ११० सिट जित्ने दावी गरेका छन् । ‘हामीले प्राप्त सुझावका आधारमा, बंगालमा जनताले आफ्नो भविष्य पहिलो चरणमै निर्धारण गरिसकेका छन्,’ शुक्रबार पत्रकार सम्मेलनमा गृहमन्त्री शाहले बताए, ‘त्यहाँ भारी मतदान भएको छ । यसले स्पष्ट गर्दछ कि दिदी जानेवाली छन् । बीजेपी आउनवाली छ । भय जानेवाला छ र भरोसा आउनवाला छ ।’ यहाँ ‘दिदी’ शब्दले पश्चिम बंगालमा १५ वर्षदेखि निरन्तर नेतृत्व गरिरहेकी मुख्यमन्त्री ममता बनर्जीलाई जनाइएको छ, जसको पार्टीले पछिल्ला तीन निर्वाचन जितेर शासन गर्दै आएको छ । उनले पश्चिम बंगालमा मुख्यमन्त्री बीजेपीबाट आउने र बंगाली माध्यममै शिक्षित हुने दावी पनि गरेका छन् । ‘म दिदीलाई भन्न चाहन्छु कि बंगालमा आगामी मुख्यमन्त्री बंगालमै जन्मेका, बंगाली माध्यमबाट पढेका र बंगाली भाषामा निपूर्ण व्यक्ति हुनेछ । त्यो तपाईंको भतिजो नहुनेछ, भारतीय जनता पार्टीको कार्यकर्ता हुनेछ,’ गृहमन्त्री शाहले भने ।