Skip to main content

भोलिदेखि वीरगञ्जको सडक मध्यरेखा निर्धारण कार्य शुरु हुँदैछ

फाइल तस्वीर समाचार सारांश वीरगञ्जको त्रिभुवन राजपथको सडक मध्यरेखा निर्धारण कार्य मंगलबारदेखि शुरु हुँदैछ। सडक डिभिजन कार्यालय हेटौँडाले प्राविधिक सामग्री उपलब्ध गराउने छ भने नापी कार्यालयले नक्सा र मापन कार्य सम्हाल्नेछ, संयुक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्म सहकार्य गर्नेछ। १४ वैशाख, वीरगञ्ज।
वीरगञ्जको मुख्य सडक त्रिभुवन राजपथमा सडकको दायाँ र बायाँतर्फ पर्ने मध्यरेखा निर्धारणको कार्य मंगलबारदेखि सुरू हुन लागेको छ। सोमबार वीरगञ्ज महानगरपालिकामा सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तारलाई अगाडि बढाउन सडकको मध्यरेखा निर्धारण गरी स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो। बैठकमा महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए।
सडक विस्तारको क्रममा केही संरचनाहरू हटाइए पनि सडकको वास्तविक मध्यरेखा अस्पष्ट हुँदा स्थानीय बासिन्दाहरूमा अन्योलता थियो। विशेषगरी “कहाँसम्म संरचना हटाउनुपर्ने हो” भन्ने विषयमा निरन्तर जानकारीको माग हुन्थ्यो। अब उक्त समस्या समाधान गर्न त्रिभुवन राजपथको आधिकारिक नक्साअनुसार सडकको मध्यरेखा पहिचान गरिनेछ। मध्यरेखा निर्धारणपछि दायाँ-बायाँ बराबर दूरी कायम गरी सडकको चौडाइ सुनिश्चित गर्न सहज हुनेछ। यसले सडक विस्तार प्रक्रिया थप पारदर्शी र विवादरहित बनाउने अपेक्षा गरिएको छ।
नापजाँचका लागि आवश्यक प्राविधिक र भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट उपलब्ध गराइने छ भने नक्सा तथा मापनको कार्य नापी कार्यालय पर्साले गर्नेछ। सडक डिभिजन कार्यालय हेटौँडाका इञ्जिनियर भोला प्रसाद साहका अनुसार मंगलबार बिहानदेखि नापजाँचको कार्य औपचारिक रूपमा सुरु हुनेछ। साथै, नापजाँचका लागि सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्मका सबै चरणहरूमा सहकार्य गर्नेछ। यसअघि सडक फराकिलो बनाउने क्रममा गत आइतबार सडक डिभिजन कार्यालयले गण्डकदेखि भन्सारसम्म पर्ने घर–टहरामा डोजर प्रयोग गरेको थियो।