
१५ वैशाख, काठमाडौं । शैक्षिक सत्र २०८३ आजदेखि औपचारिक रुपमा सुरु भएको छ। पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेका अनुसार सरकारले १५ वैशाखदेखि विद्यालयमा भर्ना प्रक्रिया र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। उनले भने, ‘आजदेखि शैक्षिक सत्र सुरु भएको छ र विद्यार्थीहरूलाई भर्ना गराउन अनुरोध गर्दछौं, पठनपाठन भने २१ गतेबाट थालिनेछ।’
पहिले २ वैशाखबाट भर्ना हुने व्यवस्था थियो, तर पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या देखिएकाले शैक्षिक सत्र सर्नुपर्ने भएको थियो। तथापि विभिन्न स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गरिरहेका छन्। शैक्षिक सत्र सुरु भइसकेकाले विद्यार्थीलाइ समयमै पाठ्यपुस्तक वितरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ। विद्यालय तहमा झण्डै ७० लाख बालबालिकाले अध्ययन गरिरहेको अनुमान गरिएको छ।






