
प्लास्टिकको कच्चा पदार्थको मूल्यवृद्धि देखाउँदै पानी उद्योगहरूले पानीको मूल्य पनि बढाउनु पर्ने माग राखेपछि अधिकारीहरूले सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइबिना निर्णय लिन नसकिने बताएका छन्। बोतलमा पानीको अधिकतम मूल्य निर्धारण गर्ने आयोगका सुझाव अनुसार नै अघि बढ्नुपर्ने हो भने देशभरिका पानी उद्योगहरू बन्द हुन पुग्ने अवस्था आएको नेपाल पानी उद्योग महासङ्घका अध्यक्षले बीबीसीलाई बताएका छन्। विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको र बोतल तथा जार उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरूको भावमा वृद्धि भएको उल्लेख गर्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। अहिले प्रति लिटर बोतलबन्द पानीको मूल्य हाललाई ५ रुपैयाँले र जार पानीको मूल्य १० देखि १२ रुपैयाँले वृद्धि गर्नुपर्ने व्यवसायीहरूको तर्क छ। थोक र बोतल-जार खानेपानी मूल्य निर्धारणको जिम्मेवारी पाएको आयोगले सार्वजनिक सुनुवाइ र सरोकारवाला पक्षहरू बीच छलफल गरेपछि मात्र निर्णय लिन सकिने जनाएको छ।
नेपाल पानी उद्योग महासङ्घका अनुसार देशभर करीब ६२० वटा पानी उद्योगहरू छन् जसमा १९० उद्योग विभिन्न कारणले बन्द छन्। महासङ्घका अध्यक्ष विक्रम लिम्बु चेम्जोङले प्याकेजिङ सामग्री र ढुवानी इन्धनमा बढेको लागतका कारण सञ्चालन भइरहेका उद्योगहरू पनि संकटमा परेको बताए। “प्याकेजिङ सामग्रीहरूको मूल्य ४० देखि ५० प्रतिशतले बढेको छ। डिजेलको मूल्य आकासिएको छ, जसले ढुवानी खर्च पनि माथि आएको छ। पुरानै मूल्यमा बेच्न सम्भव छैन,” उनले भने। चेम्जोङले बोतल र जार पानीको मूल्य निर्धारण गर्ने आयोगलाई यस विषयमा ध्यानाकर्षण गराएको र उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताएका छन्। “हामीले कच्चा पदार्थ र इन्धन बढेको मूल्यमा किनिरहेका छौँ। पानीको मूल्य पनि केही बढाउन सबैले बुझिदिनुपर्छ। यदि पुरानो मूल्यमै बेच्न भन्यो भने उद्योग बन्द गरिनुपर्ने हुन्छ,” उनले उल्लेख गरे।
नेपाल प्लास्टिक उत्पादक सङ्घका अध्यक्ष प्रबोध घिमिरेले अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्लास्टिक कच्चा पदार्थको मूल्य ६० प्रतिशतसम्म बढेको र त्यसको प्रभाव नेपालमा पनि परेको बताए। भारत, साउदी अरेबिया र कतारजस्ता देशहरूबाट प्लास्टिक सामग्री कच्चा पदार्थ आयात हुने बताउँदै उनले भने, “प्लास्टिकका सबै उत्पादनमा ६० प्रतिशतसम्म मूल्य बढेको छ। कुर्सी, मेचदेखि पोलिथिनका पाइप, झोला र बोतल सबैमा एउटै दरले वृद्धि भएको छ।” नेपाल प्लास्टिक उत्पादक सङ्घका अनुसार देशभरि २०० भन्दा बढी प्लास्टिक उद्योग छन्। मध्यपूर्व द्वन्द्वका कारण कतिपय उद्योगहरूले कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भोग्नुपरेको अध्यक्षले बताए।
नेपाली अधिकारीहरूले व्यवसायीहरूले मूल्यवृद्धिको माग राखे पनि सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन्। खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगका अध्यक्ष रुद्रप्रसाद गौतमले विगतमा संसद्को उपभोक्ता हित समितिसँगको सहकार्यमा बोतल र जार पानीको मूल्य निर्धारण भएको र २०८१ सालको नियमावलीले आयोगलाई मूल्य निर्धारणको अधिकार दिएको व्याख्या गरे। उनले भने, “हामीले सहजै मूल्य तोक्न सक्दैनौं। विस्तृत प्रस्ताव, लागत विवरणसहित आएमा मात्र हामी सुझाव दिन सक्छौं।”






