प्रधानमन्त्रीको विदेश भ्रमण तयारीः अमेरिकी विशेष दूत र भारतीय विदेश सचिव काठमाण्डू आउँदै

प्रधानमन्त्री वालेन्द्र शाहले सत्ता सम्हालेको एक महिना पूरा भएसँगै उनी प्रत्यक्ष रूपमा धेरै कूटनीतिक भेटवार्ताहरूमा सक्रिय देखिएका छैनन्। तर प्रधानमन्त्रीको विदेश भ्रमणका लागि आवश्यक गृहकार्यहरु सुरु भईसकेको अधिकारीहरूले बताएका छन्। केही हप्ताअघि हिन्द महासागर क्षेत्रको सुरक्षासम्बन्धी मरिससमा आयोजित कार्यक्रममा भाग लिन गएका परराष्ट्र मन्त्री शिशिर खनालले भारतबाट प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो आएको र त्यसलाई स्वीकृत गरिएको जानकारी दिएका थिए। यद्यपि भ्रमणको मिति तोकिनुअघि पूर्व तयारीहरू गरिने र त्यसअन्तर्गत भारतीय विदेश सचिवले पहिले काठमाण्डूको भ्रमण गर्ने तथा त्यसपछि दिल्ली जाने उनले बताएका थिए।
उक्त उच्चस्तरीय भ्रमण तयारीकै क्रममा यसै वैशाख महिनाको अन्त्यतिर दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव विक्रम मिस्री काठमाण्डू आउन लागेका छन् भनी विवरणहरूमा जनाइएको छ। प्रधानमन्त्री शाहले सत्तामा आएपछि दक्षिण र मध्य एशियासम्बन्धी मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री नेपाल भ्रमण गरिसकेका छन् भने यसै हप्तामा अमेरिकी राष्ट्रपतिको दक्षिण र मध्य एशियाका लागि विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जिओ गोर काठमाण्डू आउने जानकारी प्राप्त भएको छ। उच्चस्तरीय भ्रमणको गृहकार्यका बाबजुद प्रधानमन्त्रीले आफ्नो सरकारको विदेश नीतिबारे सार्वजनिक रूपमा अहिलेसम्म स्पष्ट धारणा नदिएका छन्।
तर सत्ता सम्हालेपछि नेपालमा कार्यरत विभिन्न देशका राजदूतहरूसँग भएको सामूहिक भेटमा उनले संक्षिप्त सम्बोधन गर्दै ‘सन्तुलित र व्यवहारिक’ विदेश नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विदेश दूत तथा भारतका लागि राजदूत सर्जिओ गोर काठमाण्डू आउँदै छन् भने करिब दुई सातापछि भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमण गर्न लागेका छन्। मिस्रीको भ्रमणलाई प्रधानमन्त्री शाहको भारत भ्रमण तयारीसँग जोडेर हेरिएको छ। नेपाल र भारतका अधिकारीहरूले संयुक्त रूपमा उच्चस्तरीय भ्रमण कार्यक्रम सार्वजनिक गर्ने चलन छ तर दुवै देशले औपचारिक रुपमा भारतीय विदेश सचिव मिस्रीको भ्रमण तिथिको घोषणा अहिलेसम्म गरेका छैनन्।






