
समाचार सारांश रेडबुल दशौं पीएम कप एनभीए पुरुष भलिबल लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार पाँचौं जित हासिल गरेको छ। महिला भलिबल लिगको फाइनलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ। पुरुष र महिलातर्फ शीर्ष दुई टोली फाइनल खेल्ने छन् र विजेताले समानरूपमा १० लाख पुरस्कार प्राप्त गर्नेछन्। १६ वैशाख, काठमाडौं। रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार पाँचौं जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हेल्प नेपालले रुकुम पश्चिम भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ। यद्यपि, विदेशी खेलाडीहरू समेत समावेश गरी फाइनल पुग्न दावेदार दुई टोलीबीच प्रतिस्पर्धा झनै कडा रहेको छ। घरेलु भलिबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको हेल्प नेपालले आफ्नो अनुभवलाई पूर्णरुपमा सदुपयोग गरेको छ भने रुकुम पश्चिममा अनुभवको कमी देखिएको छ। तीन सेटमा हेल्प नेपालले लगातार जीत हासिल गर्यो, तर प्रत्येक सेट निकै प्रतिस्पर्धात्मक रह्यो। हेल्प नेपालले रुकुम पश्चिमलाई २५-२३, २५-२२, २५-२३ अंकले पराजित गरेको छ। सुरुवाती चार खेल जितेको रुकुम पश्चिमको अपराजित यात्रा रोकिएको छ। लगातार पाँच खेल जितेको हेल्प नेपालले १५ अंक जोडेको छ। अर्को अपराजित टोली नेपाल पुलिस क्लबले पनि लगातार पाँच खेल जितेर १५ अंक बटुलेको छ। पहिलो हार व्यहोरेको रुकुम पश्चिम पाँच खेलबाट १२ अंकसहित तेस्रो स्थानमा रहेको छ। पुरुषतर्फका अन्य खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले पनि जित सम्भाल्न सफल भए। आर्मीले कोशी प्रदेशलाई २५-१५, २५-१८, २५-१७ अंकले पराजित गर्यो। यो आर्मीको पाँच खेलमा चौथो जीत हो। आर्मीले ११ अंक जोड्दै चौथो स्थान कायम राखेको छ। एपीएफले बुढानिलकण्ठ भलिबल क्लबलाई २५-२३, २५-२२, २५-२१ ले हरायो। यो एपीएफको पहिलो जित हो। लगातार चार खेलमा पराजित भए पनि एपीएफले यो जीतसँगै ३ अंक जोड़ेको छ। महिलातर्फ नेपाल पुलिस क्लबले बुधबार नेपाल एपीएफ क्लबलाई हराउँदै फाइनलमा स्थान बनायो। अब फाइनलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीले महिलातर्फ लिग चरणको अन्तिम खेल बिहीबार खेल्नेछन्। यो खेल दुवैका लागि फाइनलअघि अभ्यास जस्तै हुनेछ। न्यु डायमण्ड र पुलिसबीचको खेल बिहीबार साँझ ५ बजे सुरु हुनेछ। यसअघि, बिहीबार पुरुषतर्फ चार खेल हुनेछन्। कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लबबीच खेल बिहान ९ बजे, एपीएफ र खिल्जी युवा क्लबबीच खेल बिहान ११ बजे सुरु हुनेछ। फाइनल पुग्नका लागि दुई महत्वपूर्ण खेल दिउँसो हुनेछन्: त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम भलिबल क्लबको खेल दिउँसो १ बजे हुनेछ भने हेल्प नेपाल र नेपाल पुलिस क्लबबीचको खेल दिउँसो ३ बजे हुनेछ। नेपाल भलिबल संघको आयोजनामा भइरहेका लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन्। ९ दिनसम्म चल्ने यो लिगमा पुरुष र महिलाद्वयमा जम्मा ४५ खेल हुनेछन्। सिंगल राउन्ड रोबिन लिगपछि महिला र पुरुष दुवैमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। विजेताले पुरुष र महिलातर्फ समान १० लाख पुरस्कार पाउनेछन्।






