
विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० औं वर्ष पूरा भएको छ। नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने जानकारी गराएका छन्। १६ वैशाख, काठमाडौं।
यस अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने योजना बनाएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने यी कार्यक्रमले ऐतिहासिक उपलब्धिको सम्झना गराउने मात्र नभएर नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्नेछ। पत्रकार सम्मेलनमा स्वीस दूतावासका म्याक्सिमिलियन रिट्जम्यान र जापान दूतावासका पुरब कायस्थसहित कूटनीतिक प्रतिनिधिहरू उपस्थित थिए।
सन् १९५६ मा मनास्लु र ल्होत्से दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो। मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए भने ल्होत्से हिमाल स्वीस पर्वतारोही अन्स्र्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक आरोहण गरेका थिए। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै पहिलो आरोहीहरूको सम्झनामा तीनवटा प्रतिमा निर्माण गरी अनावरण गरिने तयारी गरिएको छ। नेपाल पर्वतारोहण संघका दोस्रो उपाध्यक्ष बोधराज भण्डारीले प्लाटिनम जुबिलीका अवसरमा अग्रज पर्वतारोही तथा उनीहरूको परिवारलाई विशेष सम्मान गरिने जानकारी दिए।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यो कार्यक्रम पर्यटन प्रवद्र्धनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालको ऐतिहासिक महत्त्व उल्लेख गर्दै हालसम्म तीन हजारभन्दा बढी आरोहीले उक्त शिखर आरोहण गरिसकेको जानकारी दिए। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाले प्लाटिनम जुबिलीलाई नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए। यस प्लाटिनम जुबिलीले नेपाललाई विश्व पर्वतारोहण तथा ट्रेकिङ गन्तव्यका रूपमा अझ सशक्त बनाउने विश्वास गरिएको छ।






