
समाचार सारांश एडोल्फ हिटलर अस्ट्रियाको ब्राउनाउ एम इनमा जन्मिएका थिए र पछि १९३० को दशकमा जर्मनीका नागरिक बनेका थिए। सन् १९२३ को असफल विद्रोहपछि हिटलरलाई देशद्रोहको आरोपमा जेल सजाय भोग्नु पर्यो र उनले ‘मेन क्याम्फ’ लेख्न थाले। इतिहासकै सबैभन्दा चर्चित पात्रहरूमध्ये एक एडोल्फ हिटलर हुन्। जर्मनीको सर्वोच्च पदमा पुगेर दोस्रो विश्वयुद्ध निम्त्याएका उनी क्रूर र तानाशाही शासकका रूपमा इतिहासमा चिनिन्छन्। हिटलरका बारेमा धेरै जानकारी उपलब्ध भए तापनि उनी अझै धेरैका लागि जिज्ञासाको विषय नै बनेका छन्। उनी कसरी थिए? के गर्थे? कसरी बोल्थे? र उनी किन यति शक्तिशाली भए? यी सबै प्रश्नहरू धेरैमा छन्। यस लेखमा हिटलरसँग सम्बन्धित १२ रोचक तथ्यहरू प्रस्तुत गरिएको छ।
१. सुरुमा अस्ट्रियाली थिए – हिटलर जर्मन राष्ट्रवादीसँग जोडिए पनि उनी अप्रिल १८८९ मा अस्ट्रियाको ब्राउनाउ एम इनमा जन्मिएका थिए। आफ्ना विद्यालय शिक्षक लियोपोल्ड पोएट्सको प्रभावमा पर्नुको कारण उनलाई अस्ट्रिया-हंगेरी साम्राज्यप्रति घृणा भयो र जर्मनीप्रति वफादार भए। सन् १९१४ मा म्युनिखमा बसेर उनले बवेरियाली सेनामा भर्ती भए। १९२५ मा उनले आफ्नो अस्ट्रियाली नागरिकता त्यागे र १९३० को दशकको सुरूमै आधिकारिक रूपमा जर्मन नागरिक बने। नाजी पार्टीमा आबद्ध भएर उनी १९३३ मा जर्मन सरकारको नेतृत्वमा आए।
२. असफल चित्रकार– हिटलरको युवावस्थामा चित्रकार बन्ने सपना थियो। धेरैले सोच्दछन् यदि उनी सफल चित्रकार हुने थिए भने २०औं शताब्दी कस्तो हुन्थ्यो। उनले भियनाको एकेडेमी अफ फाइन आर्ट्स प्रवेश परीक्षामा १९०७ र १९०८ मा दुई पटक असफल भए। वास्तुकलासम्बन्धी रेखाचित्रमा केही प्रतिभा भए तापनि मानव आकृतिहरूमा सूक्ष्मता र चरित्रमा कमी पाइयो। कलामा उनको रुचि भने कायम रह्यो। थर्ड रिचकालमा आधुनिक र प्रभाववादी कलालाई ‘यहूदी र बोल्सेभिक कलाकारहरूद्वारा उत्पन्न’ भनेर नाजीहरूले घृणा गरिन्थ्यो र कलाकारका बहुमूल्य कलाकृतिहरू जफत गरिन्थ्यो। हिटलरले आफ्नै निजी संग्रहका लागि धेरै कलाकृति जम्मा गरेका थिए।
३. बेघर चित्रकारको रूपमा संघर्ष– सफल नभएपछि हिटलर ठूलो आर्थिक संकटमा परे। उनी आफ्ना चित्र र पोस्टकार्ड बेच्न नसकेपछि सन् १९०९ मा भियनाको घरबारविहीन आश्रयस्थलमा बस्न बाध्य भए। सन् १९१३ सम्म उनी सार्वजनिक छात्रावासमा बाँचे। पछि बाबुका पैतृक सम्पत्ति पाएपछि म्युनिख बसाइँ सरे।
४. प्रथम विश्वयुद्धका घाइते– अस्ट्रियाली नागरिक भए तापनि उनले बवेरियाली सेनामा भर्ती भएर सन् १९१६ मा सोम युद्धमा भाग लिएका थिए। त्यहाँ खुट्टामा चोट लागेर घाइते भए। १९१८ मा मस्टर्ड ग्यासको प्रयोगका कारण अस्थायी रूपमा आँखा अन्धा भए। अस्पतालमा उपचार हुँदै गर्दा उनले जर्मनीको आत्मसमर्पणको खबर पनि सुने। उनी युद्धमा ‘आइरन क्रस’ पदक प्राप्त गरेका थिए।
५. देशद्रोहको आरोपमा जेल सजाय– सन् १९२३ मा नाजी पार्टीको असफल विद्रोहपछि हिटलरलाई देशद्रोहको आरोपमा जेल चलान गरियो। उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो, तर उनले एक वर्षभन्दा कम समय जेलमा बिताए। त्यतिबेला उनले प्रसिद्ध पुस्तक ‘मेन क्याम्फ’ लेख्न सुरु गरेका थिए।
६. कहिल्यै चुनाव जितेनन्– सन् १९३२ को राष्ट्रपति चुनावमा हिटलर पल भोन हिन्डेनबर्गसँग पराजित भए। तर त्यो वर्षको संघीय चुनावमा नाजी पार्टीले ३७ प्रतिशत मत प्राप्त गरी सबैभन्दा ठूलो पार्टी बन्यो। १९३३ मा हिन्डेनबर्गले उनलाई चान्सलर नियुक्त गरे। पछि हिन्डेनबर्गको मृत्यु भएपछि हिटलरले राष्ट्रपति र चान्सलरको पदलाई एकै ठाउँमा समेटेर आफूलाई ‘फुहरर’ (सर्वोच्च नेता) घोषणा गरे।
७. टाइम म्यागजिनको ‘म्यान अफ द इयर’– दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि सन् १९३८ मा टाइम म्यागजिनले हिटलरलाई यो उपाधि दिएको थियो। टाइमका अनुसार यो उपाधि समाचारको प्रभाव र चर्चाको आधारमा प्रदान गरिएको थियो। उनलाई नोबेल शान्ति पुरस्कारका लागि पनि मनोनयन गरियो, तर त्यो एक स्वीडिश राजनीतिज्ञको व्यङ्ग्य मात्र थियो।
८. कन्सन्ट्रेशन क्याम्पमा कहिल्यै गएनन्– यहूदीहरूको सामूहिक नरसंहार हिटलरको शासनको सबैभन्दा भयानक कालो धब्बा हो। तर हिटलर कहिल्यै आफैंले बनाएका कन्सन्ट्रेशन क्याम्प अथवा मृत्यु शिविरहरूको भ्रमणमा गएनन्। उनले नरसंहारको योजना टाढाबाट नियन्त्रित गरेका थिए।
९. जनावर प्रेमी– मान्छेहरूमाथि क्रूर अत्याचार गर्ने भए पनि हिटलर जनावर प्रेमी थिए। उनी शाकाहारी थिए कि थिएनन् भन्ने विषयमा विवाद छ। तर उनले जनावर संरक्षणका लागि कडा कानुनहरू ल्याएका थिए र वैज्ञानिक परीक्षणहरूको विरोध पनि गरेका थिए।
१०. स्वास्थ्य समस्या– उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजीहरू छन्। केही इतिहासकारहरूको अनुसार उनलाई सिफिलिस, हन्टिङ्टन रोग र पार्किन्सन रोग थियो। उनको हात काँप्ने समस्या पार्किन्सन वा लागू औषधको प्रयोगसँग जोडिएको हुन सक्ने चर्चा छ।
११. हत्याका प्रयासबाट बचे– हिटलरमाथि धेरै पटक हत्या प्रयास भएका थिए। यकिन संख्या थाहा छैन तर उनी २० भन्दा धेरै प्रयासबाट जोगिएका थिए। सन् १९३९ मा जर्ज एल्सरको बम आक्रमण र १९४४ मा क्लाउस भोन स्टाउफेनबर्गको प्रयास सबैभन्दा चर्चित छन्।
१२. उनका भतिजा अमेरिकी सेनामा– हिटलरका भतिजा विलियम प्याट्रिक हिटलर लिभरपुलमा जन्मिएका थिए। सन् १९३० को दशकमा जर्मनी गएका भए पनि पछि अमेरिकासँग मिलेर आफ्नै काकासँग लडे। उनले अमेरिकी नौसेनामा सेवा गर्दा पर्पल हार्ट पदक प्राप्त गरेका थिए।






