Skip to main content

साँचो क्रान्ति करुणाबाट सुरु हुन्छः रक्षा बमको जवाफ

प्रधानमन्त्री वालेन्द्र शाहले बुद्ध जयन्तीमा साँचो क्रान्ति ज्ञानबाट सुरु हुने बताएका थिए। तर, जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीको उक्त भनाइ उद्धृत गर्दै साँचो क्रान्ति करुणाबाट सुरु हुने प्रतिक्रिया दिएकी छन्। काठमाडौंका खोला किनारका सुकुम्बासी बस्ती सरकारले डोजर चलाएर भत्काएको र ती स्थानीयहरूलाई होल्डिङ सेन्टरमा राखेर बिचल्ली बनाएपछि यो विषयले राष्ट्रव्यापी बहस जन्माएको छ।

१९ वैशाख, काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुद्ध जयन्तीको अवसरमा साँचो क्रान्ति ‘क’ बाट नभएर ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ज्ञान हो भनेका थिए। यसैमा प्रतिक्रिया स्वरूप जेनजी अभियन्ता रक्षा बमले लेखेकी छन्, ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्रीज्यू, र त्यो ‘क’ करुणा हो।’

सरकारले स्पष्ट र दीर्घकालीन व्यवस्थापनको योजना नबनाई काठमाडौंका खोला किनारस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काएको र ती बस्तीमा बसोबास गर्नेहरुलाई होल्डिङ सेन्टरमा राखेर असहज अवस्थामा पुर्‍याईरहेको विषयले राष्ट्रिय स्तरमा आलोचना र बहसलाई निम्तो दिएको छ।

एकातिर सरकारको नेतृत्व ज्ञान र शान्तिको दार्शनिक उपदेश दिने, तर अर्कोतिर गरिब र सीमांतकृत नागरिकको बासस्थान तोडेर उनीहरूलाई होल्डिङ सेन्टरजस्तो असुविधाजनक अवस्थामै छोड्ने व्यवहारमा विरोधाभास देखिएको छ। राजनीति र समाजका आलोचकहरू यसलाई मानवीयता र करुणाको अभावको रूपमा लिंदै प्रधानमन्त्रीको ज्ञानको भाष्यमाथि करुणाको वैचारिक प्रहार गरेका छन्।

सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति नागरिक समाज र युवा अभियन्ताहरूले उचित विकल्प र सुरक्षित आवासको ग्यारेन्टीसहित मात्र बस्ती खाली गराउनुपर्ने माग गर्दै सरकारलाई दबाब दिइरहेका छन्। यो विषयमा चौतर्फी बहस चलिरहेको छ।