सरकारले २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ घोषणा गर्दै १० वर्षे रणनीति लागू गर्ने योजना

सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ घोषणा गरी १० वर्षे रणनीति र ५ वर्षे कार्ययोजना सहित आरोग्य पर्यटन प्रवर्द्धनमा लागेको छ। रणनीतिले ५ वर्षभित्र आरोग्यउन्मुख अन्तर्राष्ट्रिय पर्यटक आगमन ११ प्रतिशतले बढाउने लक्ष्य राखेको छ। सरकारले काठमाडौं, पोखरा, लुम्बिनी, नगरकोट लगायत स्थानमा एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने योजना बनाएको छ।
१८ वैशाख, काठमाडौं। सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ घोषणा गरेको छ। साथै, मुलुक १० वर्षे आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) र ५ वर्षे कार्ययोजना (सन् २०२६–२०३०) सहित आरोग्य पर्यटन प्रवर्द्धनमा होमिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आरोग्य पर्यटन माध्यमबाट कुल चार विधामा काम गर्न खोजिएको छ। जसमा स्पा र मसाज, आयुर्वेद क्लिनिक, योग र ध्यान तथा प्राकृतिक उपचार र आध्यात्म छन्।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भनेका छन्, ‘प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र आध्यात्मिक पक्षहरूको अनुपम संगमले नेपाललाई आरोग्य पर्यटनका लागि विश्वकै एक उत्कृष्ट गन्तव्य बनाएको छ।’ उनका अनुसार नेपालका नीति तथा योजनाहरूले पर्यटनसँगै स्वास्थ्य तथा आरोग्य पर्यटनलाई पनि रणनीतिक विकासको क्षेत्रमा समावेश गरेको छ। २०३० सम्म कम्तीमा ५ प्रमुख क्षेत्रमा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने भएको छ।
सरकारले आरोग्य पर्यटन क्षेत्रमा सिर्जित नयाँ रोजगारीमा कम्तीमा ३० प्रतिशत हिस्सा महिला, युवा र स्थानीय समुदायका व्यक्तिलाई उपलब्ध गराइने भएको छ। यसका साथै, २०२७ अन्त्यसम्म राष्ट्रिय आरोग्य मापदण्ड तथा आचारसंहिता कार्यान्वयनमा ल्याइने छ। यस रणनीतिमा नेपाललाई एक आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न एकीकृत आरोग्य केन्द्र सञ्जाल निर्माण गर्ने उद्देश्य राखिएको छ।






