
१९ वैशाख, काठमाडौं । इरान युद्धका कारण साउदी अरबमा मदिराको आपूर्ति प्रभावित भएको छ। साउदी अरबका मदिरा प्रेमीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएका जानकारीअनुसार, युद्धका कारण मदिरा आपूर्तिमा ढिलाइ हुनुका साथै कमी देखिएको छ। बीबीसीका अनुसार, साउदी अरबमा मदिरा बिक्रीका लागि एक मात्र सरकारी पसल सञ्चालनमा छ। उक्त पसल रियादमा कूटनीतिज्ञहरूको सरकारी आवास क्षेत्रभित्र रहेको छ। हालसालै मदिरा किन्ने पाँच व्यक्तिहरूले उक्त पसलमा महँगो मूल्य र सीमित ब्रान्डहरू मात्र उपलब्ध रहेको जानकारी दिएका छन्। पसलमा कुनै नाम वा बोर्ड टाँसिएको छैन। सन् २०२४ मा गैरमुस्लिम कूटनीतिज्ञहरूलाई लक्षित गर्दै यो पसल खोलिएको थियो। गत वर्षदेखि यो पसलले गैरमुस्लिम विदेशी नागरिकहरूलाई पनि मदिरा बिक्री गर्दै आएको छ। साउदी अरबमा सन् १९५२ देखि पूर्णरूपमा मदिरा प्रतिबन्धित छ। तर विदेशी कामदारहरूलाई आकर्षित गर्न सरकारले सीमित रूपमा लाइसेन्स लिएर मदिरा पसल सञ्चालन गर्न अनुमति दिएको छ।






