Skip to main content

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले राजीनामा दिनुभयो

समाचार सारांश विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले अध्यादेश जारी हुनु अघि शुक्रबार नै राजीनामा दिएका छन्। सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने उद्देश्यले ११० वटा कानूनहरू संशोधन गरी १५ सयभन्दा बढी नियुक्ति खारेज गर्ने अध्यादेश जारी गरेको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित अन्य पदाधिकारीहरूले पनि राजीनामा दिएका छन्। १९ वैशाख, काठमाडौं।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले पनि अध्यादेश जारी हुनुअघि शुक्रबार नै राजीनामा दिएका थिए। उनले भने, ‘अध्यादेश जारी हुनुअघि हिजै राजीनामा दिएको छु।’ उनले २०७९ माघमा अध्यक्ष पदमा नियुक्ति पाएका थिए। सरकारले पूर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने गरी अध्यादेश जारी गरेको हो। राष्ट्रपति कार्यालयका अनुसार, विभिन्न ११० वटा कानुन संशोधन गरेर १५ सयभन्दा बढी राजनीतिक नियुक्ति खारेज हुने गरी यो अध्यादेश जारी गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश आजै जारी गरिसकेका छन्।

अध्यादेश जारी हुनुअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहितका पदाधिकारीहरूले पनि राजीनामा दिएका छन्। १७ वैशाखमा उपकुलपति अर्यालसहित शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका थिए। त्यस्तै, शुक्रबार संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि राजीनामा दिएका थिए। त्यसैगरी त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले पनि राजीनामा दिएका छन्।