
समाचार संक्षेप परिष्कृत पछि तयार गरिएको छ। संयोग कपाली र नविता श्रेष्ठले दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा पुरुष र महिला च्याम्पियन उपाधि जितेका छन्। पुरुष फाइनलमा संयोगले रुविन महर्जनलाई पाँच सेटमा हराए भने महिला फाइनलमा नविताले इभाना थापालाई पराजित गरिन्। प्रतियोगितामा २०० खेलाडीहरूले ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए र विजेताहरूलाई कुल २ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। १९ वैशाख, काठमाडौं। संयोग कपाली र नविता श्रेष्ठले दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा शनिबार च्याम्पियनका रूपमा उभिएका छन्। संयोग पुरुष तर्फ र नविता महिला तर्फ विजेता बनेका छन्। दुबै नेपाल प्रहरीका खेलाडी हुन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा संयोगले एभीएमका रुविन महर्जनलाई ८–११, १७–१५, ११–९, ६–११ र ११–९ को सेटमा हराए। प्रहरीका गनञ्जय दाहाल र भिजन टेबलटेनिस एकेडेमीका हिमाल विष्टले तेस्रो स्थान हासिल गरे। ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजनमा खोल्चा पुखु खेलकुद उपसमितिद्वारा आयोजना गरिएको प्रतियोगिताको महिला सिंगल्समा ९ पटककी राष्ट्रिय च्याम्पियन नविताले एभीएमकी इभाना थापालाई ११–८, १२–१४, ११–६, ७–११ र १५–१३ को परिणामले पराजित गरिन्। एभीएमकी वियंका राई र भिजनकी योङगी पौडेल तेस्रो भए। ४० वर्षमाथिका पुरुष सिंगल्स भेट्रान्स स्पर्धामा काठमाडौं महानगरपालिका वडा २५ का महेश श्रेष्ठले पहिलो स्थान प्राप्त गरे। एभीएमका राजकुमार शाही दोस्रो र इखाछेनका मुकेश महर्जन तथा काठमाडौंका उमेश मानन्धर तेस्रो भए। ५० वर्षमाथिका पुरुष सिंगल्समा एभीएमका जय महर्जनले स्वर्ण पदक जिते। नक्सालका रक्त मानन्धरले रजत पदक पाए भने खोल्चा पुखुका नदिमरत्न शाक्य र इखाछेनका राजेन्द्र वज्राचार्यले काँस्य पदक हात पारे। ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोग र स्पिन इभेन्ट्स प्रालिको व्यवस्थापनमा भएको ६० वर्षमाथिका पुरुष सिंगल्स भेट्रान्समा काठमाडौं २ का अशोक शर्माले प्रथम स्थान, होप्सका राजन सुब्बा दोस्रो र खोल्चा पुखुका प्रकाश धाक्वा तथा इखाछेनका शरद्मान श्रेष्ठ तेस्रो भए। यू–१६ मिक्स युथ स्पर्धामा एभीएमका आरभ मल्ल, इखाछेनका सोयम महर्जन, इखाछेनका सुप्रिन्स महर्जन र खोल्चा पुखुका निर्भिक शाक्यले क्रमशः शीर्ष तीन स्थान हासिल गरे। यो स्पर्धामा ललितपुर महानगरपालिका वडा ११ का प्रतिस्पर्धीहरू मात्र सहभागी थिए। विजेताहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वडा ११ का अध्यक्ष अरोजकुमार खड्गी, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य रवि महर्जन, टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासु लगायतले एक समारोहमा पुरस्कार वितरण गरे। दुई दिने प्रतियोगितामा २०० जना खेलाडीहरूले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। सबै स्पर्धाका पदक विजेताहरुलाई कुल २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।






