Skip to main content

डोजरले विद्यालय भत्काएपछि प्रधानाध्यापनको प्रतिक्रिया– स्कूल सरकारी जग्गामा नै बन्ने हो

समाचार सारांश सरकारले अतिक्रमित सरकारी जग्गामा बनेका विद्यालयहरू भत्काउने क्रम जारी राखेको छ। बालाजुस्थित २०५३ सालदेखि सञ्चालनमा रहेको श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय भत्काइएको छ। उक्त विद्यालयका १२० भन्दा बढी विद्यार्थीलाई तत्काल तरुण माध्यमिक विद्यालयमा सारिएको भए पनि दीर्घकालीन समाधान भने अझै आएन। १९ वैशाख, काठमाडौं। सरकारले अतिक्रमित जग्गा खाली गर्ने क्रममा सरकारी जग्गामा बनेका विद्यालयहरूलाई पनि भत्काउने कार्यलाई निरन्तरता दिइरहेको छ। शनिबार बिहान बालाजुस्थित एक विद्यालय पनि डोजर लगाएर भत्काइएको छ। २०५३ सालदेखि सञ्चालन हुँदै आएको श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयको भवन भत्काइएको छ।

कक्षा १ देखि ८ सम्म अध्ययन हुने यस विद्यालयमा १२० बढी विद्यार्थी छन् भनी प्रधानाध्यापक शान्तराम श्रेष्ठले जानकारी गराए। बालाजु–१९ स्थित सुकुवासीवस्तीका भवन भत्काउने सूचना १५ वैशाखमा दिइएको थियो। सरकारी जग्गामा बनेको विद्यालयको भवन भत्काउन नदिन आग्रह गर्दा पनि सरकारी पक्षले सुनुवाइ नगरेको प्रधानाध्यापक श्रेष्ठले बताए। ‘विद्यालय त सरकारी जग्गामा नै बन्ने हो। विद्यालय नभत्काउन आग्रह गर्‍यौं,’ श्रेष्ठले भने, ‘हाम्रो आग्रह कानुनी आधार नभए पनि बेवास्ता गरियो।’

महानगरपालिकाले विद्यालय भत्काउने जानकारी दिएपछि विद्यालयका सामग्रीहरू नजिकै रहेको अर्को विद्यालय तरुण माध्यमिक विद्यालयमा सारिएको छ। तत्कालका लागि आश्रयस्थलको रूपमा तरुण मावि भए पनि दीर्घकालीन समाधान अझै नआएको प्रधानाध्यापक श्रेष्ठले बताए। उनले भने, ‘विद्यालयका सबै सामान सार्यौं। विद्यार्थीहरूलाई त्यहीँ आउन भनिएको छ। अब कसरी पढाउने भन्ने विषयमा अनिश्चितता छ।’ १६ कोठे विद्यालयमा प्रायः मजदुरका बालबालिकाहरू पढ्दै आएका थिए, विद्यालयले थप जानकारी गरायो।