
२० वैशाख, काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल माध्यमिक विद्यालय/कलेजले आफ्ना शिक्षक र कर्मचारीलाई १५/१५ दिनमा तलब वितरण गर्न थालेको छ। विद्यालयले चालु वैशाख महिनादेखि लागू हुने गरी १५/१५ दिनमा तलब वितरण सुरु गरेको जनाएको छ। सरकारले कर्मचारीहरूको तलब १५/१५ दिनमा उपलब्ध गराउने नीतिलाई अवलम्बन गर्न थालेपछि विद्यालयले पनि सरकारको उक्त नीति समर्थन गर्दै यसरी तलब दिन थालेको जनाएको छ। विद्यालय सञ्चालन तथा व्यवस्थापन समितिको यस निर्णयले सबै शिक्षक तथा कर्मचारीहरूमा नयाँ ऊर्जा थप्ने आशा गरिएको छ। काठमाडौं मोडेल कलेजले आफ्ना शिक्षक तथा कर्मचारीहरूको १५ दिनको तलब पनि पठाइसकेको छ। यसअघि सामाजिक सुरक्षा लागू गर्ने सन्दर्भमा पनि काठमाडौं मोडेल माध्यमिक विद्यालय सबैभन्दा अगाडि रहेको जनाइएको छ।






