गुल्मीमा सशस्त्र प्रहरीले मनसुनजन्य विपद उद्धारका लागि अस्थायी बेस स्थापना गर्यो

सशस्त्र प्रहरी बल नेपालले गुल्मीमा मनसुनजन्य विपद उद्धारका लागि मुसिकोट नगरपालिका–७ वामीटक्सारस्थित रुद्रावती बहुमुखी क्याम्पसमा अस्थायी उद्धार बेस स्थापना गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३७ गुल्मीबाट १५ जनाको टोली उद्धार कार्यका लागि मनसुन अवधिभर उक्त बेसमा खटिएको छ। मनसुनका कारण बाढी, पहिरो, डुबान र नदी कटानको जोखिम बढ्ने भएकाले मुसिकोट, चन्द्रकोट र सत्यवती गाउँपालिकामा तत्काल उद्धारका लागि टोली तयारी अवस्थामा रहने बताइएको छ। २१ वैशाख, गुल्मी।
गुल्मीमा मनसुनजन्य विपदका घटनालाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। मुसिकोट नगरपालिका–७, वामीटक्सारस्थित रुद्रावती बहुमुखी क्याम्पसको भवनमा मनसुन अवधिभर सञ्चालन हुने गरी उद्धार बेस स्थापना गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्मी मुख्यालयबाट सशस्त्र प्रहरी नायब निरीक्षक टोपबहादुर कुमालको कमान्डमा १५ जनाको टोली उक्त बेसमा खटिएको छ।
मनसुन सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान तथा नदी कटानका घटना बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उद्धार कार्यलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विशेषगरी बढीगाड खोला आसपासका क्षेत्रमा हरेक वर्ष मनसुनका समयमा जोखिम बढ्दै जाने भएकाले मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकामा हुन सक्ने सम्भावित विपद घटनामा तत्काल उद्धार तथा राहतका लागि टोली तयारी अवस्थामा रहने बताइएको छ।
सशस्त्र प्रहरी बल नम्बर ३७ गुल्मीका प्रमुख डीएसपी सुदीप प्रसाईंका अनुसार विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहित टोली परिचालन गरिएको छ। मनसुन अवधिमा गुल्मीका विभिन्न ग्रामीण क्षेत्रमा सडक अवरुद्ध हुने, खोलानाला उर्लिने तथा पहिरो जाने समस्या दोहोरिने भएकोले स्थानीयवासीलाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ।






