Skip to main content

सरकारले भत्काएको विद्यालयका ५०० विद्यार्थीको अध्ययन अवस्था

सरकारले खोला र नदी किनारका सुकुम्बासी बस्ती खाली गर्ने क्रममा मनोहराको श्री सरस्वती आधारभूत विद्यालय भत्काएको छ। बालाजुस्थित बुद्धज्योति उद्यान र बाल कल्याण आधारभूत विद्यालयहरू क्रमशः तरुण तथा युवक माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएका छन्। काठमाडौं महानगरपालिकाले यी विद्यालयहरू मर्ज गर्ने तयारी गरिरहेको छ र स्थानान्तरणलाई अस्थायी व्यवस्था भनेको छ। २१ वैशाख, काठमाडौं।

सोमबार बिहान १० बजे मनोहाराको श्री सरस्वती आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरू मध्यपुर थिमि नगरपालिका–१ स्थित सामुदायिक भवनमा भेला भए। विद्यार्थीहरूबीच ‘हाम्रो विद्यालय किन भत्कायो?’ भन्ने प्रश्न थियो, र त्यसको कुनै जवाफ थिएन। विद्यालय भवन भत्किएपछि पढाइका लागि उनीहरू सामुदायिक भवनमा जम्मा भएका थिए। १५ वैशाखबाट भर्ना र २१ वैशाखदेखि पठनपाठन गर्ने सरकारको निर्णय अनुसार उनीहरू भेला भएका थिए, तर पढ्न कक्षा कोठा उपलब्ध थिएनन्।

सोमबार बिहान शिक्षकहरू कोठाको व्यवस्थापनमा व्यस्त थिए। कोही टेन्ट झुण्ड्याइरहेका थिए, कोही डेस्क-बेञ्च मिलाउँदै थिए, र विद्यार्थीहरू आफैं डेस्क-बेञ्च बोकेर ल्याइरहेका थिए। कतिपय अभिभावक विद्यार्थी भर्ना गर्न सामुदायिक भवनमै आइपुगेका थिए। अभिभावक तिकमाया श्रेष्ठ भन्छिन्, ‘निजी विद्यालयमा पठाउन सक्दैनौं। स्कूल नजिकै भएकाले यही पढाउने हो। मेरा छोराछोरी ६ र ७ कक्षामा पढ्छन्, टाढा लैजान सकिँदैन।’

प्रधानाध्यापक इन्दिरा महत नगरपालिकासँग समन्वय गर्दै दुई कोठा बहुकक्षा सञ्चालनमा ल्याएकी थिइन्। ‘विद्यार्थीको पढाइ रोकिएको छैन। बहुकक्षा गरेर भए पनि पढाइ जारी राख्यौं,’ उनले भनिन्, ‘नगरपालिका र वडा अध्यक्षसँग समन्वय गरिरहेकी छु।’ विद्यालयमा २७५ जना विद्यार्थी छन्, तर अहिले १७० जना भर्ना भएका छन्। १५ जना शिक्षक कार्यरत छन्। विद्यालय भवन भत्किएपछि शिक्षक, अभिभावक र विद्यार्थी संघर्षमा छन्।

‘भत्काउनुअघि कुनै सूचना दिइएको थिएन। सरकारी भवन भनेर कुनै समस्या नहुने लागेको थियो। प्रहरीले सामान निकालिसकेपछि मात्र भत्काउने भन्ने थाहा भयो,’ प्रधानाध्यापक महतले सुनाइन। सामुदायिक भवन नजिकैको वडा कार्यालयमै अहिले विद्यार्थीका किताब राखिएको छ। अभिभावक मीनकुमारी मगर कक्षा ३ मा पढ्ने छोरोलाई छोड्न आएकी थिइन्। उनले भनिन्, ‘काम गर्ने ठाउँ र स्कूल नजिक छ, ल्याउन लैजान सजिलो हुन्छ।’ २०६२ सालमा बनाइएको विद्यालय भवन सरकारको डोजरले भत्काएपछि पढाइ प्रभावित भएको हो।

बालाजुस्थित बुद्धज्योति उद्यान आधारभूत विद्यालय भवनमा पनि डोजर चलाइयो। अहिले यो विद्यालयलाई तरुण माध्यमिकमा स्थानान्तरण गरिएको छ। उक्त विद्यालयमा १२० विद्यार्थी थिए, जसमा ११० जनाले भर्ना गरिसकेका थिए। तर भवन भत्किएपछि विद्यार्थीहरु तितरबितर भएका छन्। ‘तरुण माविमा पठनपाठन सुरु गराएका छौं। महानगरबाट पनि स्थानान्तरणको पत्र आएको छ,’ प्रधानाध्यापक शान्तराम श्रेष्ठले भने। ००० सरकारले भत्काएको बालाजुस्थित बाल कल्याण आधारभूत विद्यालय पनि युवक माविमा सारिएको छ। त्यहाँ १२० जना विद्यार्थी थिए। ‘सबै सामग्री युवक माविमा राखेका छौं। शिक्षक कर्मचारी त्यहीँ हाजिर हुन्छन्,’ प्रधानाध्यापक अर्जुन मुडभरीले भने।

काठमाडौं महानगरपालिकाले विद्यालयहरू मर्ज गर्ने योजना बनाएको जनाएको छ। ‘एकलाई तरुणमा, अर्कोलाई युवक माविमा व्यवस्थापन गरेका छौं, अब मर्ज प्रक्रियामा लैजानेछौं,’ महानगर प्रमुख प्रवक्ता नवीन मानन्धरले भने।