
कीर्तिपुरस्थित सुकुमवासी बस्तीमा बसोबास गर्ने बालबालिकाको पढाइ घर भत्किएपछि र होल्डिङ सेन्टरमा राखिएका कारण अवरुद्ध भएको छ। सरकारले १५ वैशाखदेखि भर्ना र २१ वैशाखदेखि पठनपाठन सुरु भएको घोषणा गरेको भए पनि ती बालबालिकाहरू विद्यालय जान पाउन सकेका छैनन्। काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टर नजिकै रहेको विद्यालयमा सुकुमवासी बालबालिकालाई पढाउने व्यवस्था खोजिरहेको छ। २१ वैशाख, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको जग्गामा अवस्थित ल्याबरोटरी स्कुलबाट सोमबार दिउँसो विद्यार्थीहरू बाहिरिँदै थिए। शैक्षिक सत्र २०८३ सुरु भए पश्चात् यो पहिलो कक्षा थियो। ल्याबरोटरी स्कुलको गेट अगाडि रहेको राधास्वामी सत्संग व्यास आश्रम नजिकै सुकुमवासी बस्तीका विद्यालय जाने उमेर समूहका बालबालिका छन्। उनीहरूलाई आजबाट पठनपाठन सुरु भएको खबर छैन।
“किताब-कापी छ ? छैन। कक्षा सुरु भयो नि ? टाढा छ, कसरी जानू ? हामीलाई बस लिन आउँदैन, क्यारे! पढ्न मन छ नि ? किन नहुने? कहिले जाने भनेर भनिएको छ? थाहा छैन।” कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा कक्षा ३ मा पढ्ने अर्पण बिकलाई सोधिएको प्रश्न र उनको जवाफ हो यो। होल्डिङ सेन्टरभित्र मिडियालाई प्रवेशमा रोक लगाइएको छ। गैरीगाउँको सुकुमवासी बस्तीबाट होल्डिङ सेन्टर पुगेका अर्पणले भने, ‘म पढेको स्कुलमा २ गतेदेखि नै पढाइ सुरु भएको थियो। घर भत्काएपछि बस्ने ठाउँ नै छैन। सर, हाम्रो कक्षा पनि छुट्यो,’ उनले निराश हुँदै भने।
‘साथीहरू स्कुलमा पक्कै जाने होलान्। हामी कहिले जाने थाहा छैन,’ उनले गुनासो सुनाए। सरकारले घोषणा गरे अनुसार १५ वैशाखदेखि भर्ना र २१ वैशाखदेखि (आज) पठनपाठन सुरु भएको छ। तर होल्डिङ सेन्टरमा रहेका बालबालिकाको अध्ययन रोकिएको छ। संविधानले अनिवार्य र निःशुल्क शिक्षा सुनिश्चित गरेको छ, तर बालबालिका विद्यालय जान पाउन सकेका छैनन्।
कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका विद्यार्थीहरूसँग किताब-कापी पनि छैन। भित्रै रहेको कारण उनीहरूले आज कति गते हो, कुन बार हो भन्ने बिर्सन थालेका छन्। ‘ए! आजदेखि स्कुल खुलेको हो र!’ कक्षा ५ मा पढ्ने जेनिस मगरले आश्चर्यसहित भनिन्। ‘स्कुल खुलेको पनि थाहा छैन। हामी भित्रै छौं, कसरी थाहा हुन्छ?’ उनले भनिन्। यता, काठमाडौं महानगरपालिकाले सुकुमवासी बस्तीका बालबालिकाको पढाइका लागि विकल्प खोजिरहेको जनाएको छ। होल्डिङ सेन्टर नजिकै रहेको विद्यालयमा पढाउने विकल्प महानगरले विचार गरिरहेको छ।
‘होल्डिङ सेन्टर नजिकको विद्यालयसँग कुरा गरिरहेका छौं,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने।






