Skip to main content

सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन

काभ्रेको धुलिखेलमा सम्पन्न सातौं एसियन सभात च्याम्पियनसिपमा नेपालले च्याम्पियन उपाधि जितेको छ। प्रतियोगितामा भारत दोस्रो र इन्डोनेसिया तेस्रो स्थानमा रहन सफल भएको छ। नेपालकी अमृता तामाङले फेयर प्ले अवार्ड प्राप्त गरिन्। अन्तर्राष्ट्रिय सभात महासंघका अध्यक्ष जिल दुइगुले नेपालले सफल प्रतियोगिता आयोजना गरेको बताएका छन्। २२ वैशाख, काठमाडौं।

नेपालले ३१ स्वर्ण, २० रजत र ३० कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हासिल गरेको नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिए। भारतले १८ स्वर्ण, २७ रजत र २२ कांस्य पदक सहित दोस्रो स्थान हासिल गर्यो भने इन्डोनेसिया ३ स्वर्ण, ४ रजत र १ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो। प्रतियोगितामा उज्बेकिस्तानका मास्रपोभ ओमिदिल्लोल पुरुषतर्फ र भारतकी वातन्पाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगितामा एसियाका ९ विभिन्न देशका करिब ३०० खेलाडी सहभागी थिए। यद्यपि अन्तिम समयमा थाइल्यान्ड, इरान, बंगलादेश र जापानका खेलाडीहरू सहभागी हुन सकेनन्। विजेता खेलाडीहरूलाई पूर्वराज्य मन्त्री विराज विष्ट, अन्तर्राष्ट्रिय सभात महासंघका उपाध्यक्ष जिल दुइगू, नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेत, महासचिव सिद्धी व्यन्जनकारले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। समापन समारोहमा जिल दुइगूले नेपालले सफलतापूर्वक प्रतियोगिता आयोजना गर्दै विश्वस्तरका अन्य प्रतियोगिताहरू पनि आयोजना गर्न सक्षम रहेको सन्देश दिएका थिए।