
२३ वैशाख, काठमाडौं । केही दिनयता परेको भारी वर्षा र त्यसका कारण उत्पन्न बाढी तथा पहिरोले अवरुद्ध बनेका देशका विभिन्न क्षेत्रका केही मुख्य राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएका छन् । तर, बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका केही खण्डहरू भने अझै पनि बन्द नै रहेका छन् ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ भालुखोला स्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सेवा पुनः सुरु भइसकेको छ।
भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड अहिले एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। त्यस्तै, इलामस्थित रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्री कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने चारसयबेँसीस्थित बीपी राजमार्ग सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी मार्गमा चल्ने सबै सवारी साधनलाई सञ्चालन गर्ने अनुमति रोकिएको छ। वर्षा हुने क्रम जारी रहेको र बाढी तथा पहिरोको जोखिम अत्यधिक हुने भएकाले अवरुद्ध भएका तथा एकतर्फी सञ्चालनमा रहेका राजमार्गहरूमा यात्रा गर्दा सुरक्षित र सावधानी अपनाउन प्रहरीले आम नागरिकलाई आग्रह गरेको छ।






