
२३ वैशाख, काठमाडौं । अब सांसदहरूले विद्युतीय हाजिरी प्रणाली प्रयोग गरी हाजिरी लगाउनुपर्नेछ। भोलिदेखि सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन प्रक्रिया सुरु हुँदैछ। संघीय संसद सचिवालयले बुधबार सूचना प्रकाशित गर्दै विद्युतीय हाजिरीका लागि सबै सांसदहरुलाई बायोमेट्रिक विवरण उपलब्ध गराउन आह्वान गरेको छ। विभिन्न संसदीय समितिहरूले बायोमेट्रिक विवरण सङ्कलन गर्न समय र स्थान फरक–फरक तय गरेका छन्। विवरण सङ्कलनको क्रममा औपचारिक तस्वीर समेत खिचिने भएकाले सांसदहरूले औपचारिक पोशाकमा संघीय संसदको लोगो सहित उपस्थित हुन भनिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू तथा विकास, आर्थिक मामिला र सुशासन समितिका सदस्यहरूले भोलि बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा उपस्थित हुनुपर्नेछ। अर्थ समितिका सदस्यहरू र विधायन व्यवस्थापन समितिका सदस्यहरूले पनि भोलि नै अर्थ समितिको हलमा जान आवश्यक छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले भोलि दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा जानुपर्नेछ। कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूले भोलि दिउँसो २ बजेदेखि ४ बजेसम्म अर्थ समितिको हलमा उपस्थित हुनुपर्नेछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूले पर्सि शुक्रवार बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा पुग्नुपर्नेछ। पूर्वाधार विकास समितिका सदस्यहरू र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले पनि बिहान १० बजेदेखि १२ बजेसम्म अर्थ समितिको हलमा उपस्थित हुनुपर्नेछ। महिला तथा सामाजिक मामिला समितिका सदस्यहरूले पर्सि दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा जानुपर्नेछ। राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले पर्सि दिउँसो २ बजेदेखि ४ बजेसम्म अर्थ समितिको हलमा पुग्नुपर्नेछ। सार्वजनिक लेखा समितिका सदस्यहरूको बायोमेट्रिक विवरण वैशाख २८ गते बिहान १० बजेदेखि १२ बजेसम्म लेखा समितिको हलमै सङ्कलन गरिनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूको बायोमेट्रिक विवरण पनि वैशाख २८ गते बिहान १० बजेदेखि १२ बजेसम्म अर्थ समितिको हलमा सङ्कलन गरिने व्यवस्था गरिएको छ।





