Skip to main content

यस वर्षको मनसुनमा कम वर्षा र बढी तातो हुने सम्भावना

नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा र बढी तातो हुने अनुमान गरिएको छ। प्रशान्त महासागरको एल निनो र हिन्द महासागरको इन्डियन ओसन डाइपोलले मनसुन कमजोर हुने प्रमुख कारण ठहरिएका छन्। कमजोर मनसुनका कारण कृषि र जलविद्युत क्षेत्रमा असर पर्ने र खाद्य असुरक्षाको जोखिम बढ्ने देखिएको छ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधि मनसुन अवधिको रुपमा लिइन्छ। यस अवधिमा कुल वर्षात् करिब ८० प्रतिशत वर्षा हुन्छ। बर्खा या मनसुनले बालीनाली तथा राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। यस वर्ष मनसुन कमजोर हुने अनुमान गरिएको छ, यद्यपि नेपालका केही भागमा भने वर्षा सामान्यभन्दा बढी हुने सम्भावना छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले यस वर्ष मनसुन सुरुवाती चरणमा कमजोर हुने र अधिकांश भू–भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको बताए। उनका अनुसार आगामी जेठ १५ देखि साउन १५ (जुन र जुलाई) सम्मको समय अवधि सुख्खा बित्ने सम्भावना छ। मनसुनको यस्तो अनिश्चितताले कृषि तथा जलविद्युत क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुनलाई प्रभाव पार्ने अन्य धेरै कुराहरू भएकोले अहिले नै ठोस निष्कर्ष निकाल्न सम्भव नभएको बताइन्। उनले भने, ‘एल निनो त छ नै, तर नेपालमा मनसुनलाई प्रभावित गर्ने विभिन्न कारकहरू हुन्छन्, अहिले नै यो मनसुन यस्तै हुने भन्न सकिने अवस्था छैन।’