Skip to main content

इलन मस्कले शुक्रकीट दानको प्रस्ताव गरेका थिए: शिवोन जिलिस

फोटो क्रेडिट : SAUL LOEB / AFP via Getty Images
शिवोन जिलिस र इलन मस्क समाचार सारांश सम्पादकीय रूपमा समीक्षा गरिएको। ओपनएआईकी पूर्व बोर्ड सदस्य शिवोन जिलिसले खुलासा गरिन् कि इलन मस्कले सन् २०२० मा उनलाई शुक्रकीट दान गर्ने प्रस्ताव गरेका थिए। जिलिसले मस्कसँग एकपटकको प्रेम सम्बन्ध स्वीकार्दै सन् २०२१ मा जन्मिएका जुम्ल्याहा बच्चाका पिता मस्क नै भएको बताइन्। अदालतमा पेश कागजातहरूले देखाए अनुसार मस्कले ओपनएआईलाई नाफामुखी कम्पनीमा रूपान्तरण गर्ने निर्णय उल्ट्याउन र थप नियन्त्रण चाहेका थिए।

२४ वैशाख, काठमाडौं । ओपनएआईकी पूर्व बोर्ड सदस्य शिवोन जिलिसले अमेरिकी अर्बपति इलन मस्कले आफूलाई शुक्रकीट दानको प्रस्ताव गरेको कुरा सार्वजनिक गरेकी छन्। क्यालिफोर्नियाको ओकल्याण्डस्थित संघीय अदालतमा बुधबार दिइएको बयानमा उनले मस्कसँगको व्यक्तिगत सम्बन्ध र त्यसबाट जन्मिएका चार सन्तानबारे खुलेर जानकारी दिइन्। जिलिसले यस बयानमा मस्कले ओपनएआईलाई नाफामुखी कम्पनीमा रूपान्तरण गर्ने निर्णयलाई उल्ट्याउन दायर गरेको मुद्दासँग सम्बन्धित विषयहरू समेटेकी छिन्। अदालतमा उनले बताए अनुसार सन् २०२० मा आफू आमा बन्न चाहिरहेको बेला मस्कले शुक्रकीट दान गर्ने प्रस्ताव गरेका थिए। उनले भनिन्, ‘म साँच्चै आमा बन्न चाहन्थें। त्यतिबेला इलनले प्रस्ताव राखे र मैले स्वीकार गरें।’

उनका अनुसार मस्कले आफ्नो वरिपरिका मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गरिरहेका थिए। ‘उनले मलाई बच्चा नजन्माएको देखे र दान गर्न प्रस्ताव गरे,’ जिलिसले भनिन्। सिलिकन भ्यालीमा १५ वर्षभन्दा बढी भेन्चर क्यापिटलिस्टको रूपमा काम गरिरहेकी जिलिस टेस्ला र न्युरालिङ्कजस्ता मस्कका कम्पनीमा कार्यकारी भूमिकामा थिइन्। उनी सन् २०१६ मा ओपनएआई स्थापना भएको केही समयपछि सल्लाहकारका रूपमा आबद्ध भएकी थिइन्। मस्कका कम्पनी र ओपनएआई दुवैतर्फको भूमिकाका कारण उनी अहिले चलिरहेको मुद्दामा महत्वपूर्ण साक्षीका रूपमा हेरिएकी छन्।

ओपनएआईका वकिलहरूले मस्कले २०१८ मा कम्पनी छोडेपछि पनि जिलिसमार्फत कम्पनीभित्रको जानकारी मस्कसम्म पुगेको आशंका गरेका छन्। जिलिसले करिब एक दशकअघि मस्कसँग ‘एकपटकको’ प्रेम सम्बन्ध भएको स्वीकार गरिन्। तर २०२० मा मस्कले आफ्ना सन्तानका पिता बन्न प्रस्ताव गर्दा आफूहरू प्रेम सम्बन्धमा नरहेको बताइन्। उनले केही स्वास्थ्य समस्याका कारण विवाह गरेर सन्तान जन्माउने आफ्नो परम्परागत योजना परिवर्तन गर्नुपरेको जानकारी दिइन्।

जिलिसका अनुसार सुरुमा उनी र मस्कले उनका पितृत्वबारे ‘पूर्ण गोप्य’ राख्ने सहमति गरेका थिए। त्यसैले उनले सन् २०२१ मा जन्मिएका जुम्ल्याहा सन्तानका पिता मस्क भएको कुरा ओपनएआई प्रमुख स्याम अल्टम्यानलाई पनि नबताएको बताइन्। पछि बिजनेस इन्साइडरले यो समाचार सार्वजनिक गर्न लागेको जानकारी पाएपछि मात्र उनले अल्टम्यानलाई जानकारी गराएकी थिइन्। यद्यपि त्यसपछि पनि अल्टम्यान र ओपनएआई अध्यक्ष ग्रेग ब्रोकम्यानले उनलाई बोर्डमा निरन्तरता दिन चाहेका थिए। जिलिसका अनुसार उनीहरूबीच कम्तीमा २०२३ सम्म मित्रवत सम्बन्ध कायम थियो।

यसबीच, अदालतमा प्रस्तुत इमेल र सन्देशहरूले ओपनएआईलाई गैरनाफामुखी संस्थाबाट नाफामुखी मोडलतर्फ लैजाने विषयमा मस्क र कम्पनी नेतृत्वबीच लामो समयदेखि मतभेद रहेको देखाएका छन्। अदालतमा पेश गरिएका कागजातअनुसार मस्कले ओपनएआईमाथि थप नियन्त्रण चाहेका थिए। उनले कम्पनीलाई टेस्लाअन्तर्गत ल्याउने प्रस्तावसमेत गरेका थिए। तर ओपनएआई नेतृत्व मस्कलाई कम्पनीको काममा नियन्त्रण दिन तयार नभएको उल्लेख गरिएको छ।