सागर ढकालले बाँदर र बँदेल समस्याको समाधानका लागि विशेष नीति आवश्यक रहने बताए

२३ वैशाख, काठमाडौं । रास्वपा सांसद सागर ढकालले बाँदर र बँदेल समस्याको समाधानका लागि विशेष नीति लागू गर्न आवश्यक रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा उनी बोल्दै वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनाअनुसार कृषि नीति कार्यान्वयनमा जोड दिन आग्रह गरे । ‘बाँदर तथा बँदेल समस्याको समाधानका लागि पनि विशेष नीति लागू गर्नुपर्छ । बाँदर मार्नु पर्छ भनेर हचुवाको तालमा बोल्नु हुँदैन,’ ढकालले स्पष्ट पारे ।
कृषि क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरी समाधानका उपाय सुझाउन विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने तर्क पनि उनले प्रस्तुत गरे । ‘कृषि क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरी समाधानका उपायबारे सिफारिस गर्न विश्वविद्यालयलाई अनुरोध गरौं । त्यस्तै कृषि औद्योगिकरणमा पनि हामीले जोर दिन आवश्यक छ,’ सांसद ढकालले जोड दिए ।






