
अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) का प्रतिनिधिमण्डलले वाशिङ्टन डीसीमा अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लन्डौसँग नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गरेका छन्। उपविदेशमन्त्री लन्डौले राजनीतिक नेतृत्वमा भइरहेका परिवर्तनहरूका बाबजुद दीगो आर्थिक कूटनीति र निरन्तर नीतिगत स्थिरता दीर्घकालीन समृद्धि सुनिश्चित गर्नेमा जोड दिएका थिए।
अमच्याम नेपालले सेलेक्ट युएसए समिटमा नेपालको ऐतिहासिक सहभागितालाई सम्भव बनाउन अमेरिकी विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयले गरेको निरन्तर साझेदारीप्रति कृतज्ञता व्यक्त गरेको छ। २५ वैशाख, काठमाडौं। वाशिङ्टन डीसीमा सेलेक्ट युएसए इन्भेस्टमेन्ट समिटमा सहभागिता जनाउन पुगेको अमच्याम नेपालको प्रतिनिधिमण्डलले उपविदेशमन्त्री लन्डौसँग विशेष भेटवार्ता गरेको हो।
उपविदेशमन्त्री लन्डौले नेपाल–अमेरिका आर्थिक सम्बन्ध सुदृढ गर्ने विषयमा आफ्ना विचारहरू अमच्याम नेपाल सामु प्रकट गरे। उनले भने, “नेपाल मेरो हृदयमा छ र म एकदिन नेपाल भ्रमण गर्न चाहन्छु।” अमच्याम नेपालका कार्यकारी निर्देशक अमिर आर. थापाको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले उपविदेशमन्त्री लन्डौलाई नेपाल भ्रमणको औपचारिक निम्तो पनि दिए।
भेटवार्तामा प्रतिनिधिमण्डलले अमच्याम नेपालको विस्तार हुँदै गएको प्रभाव र हाल १४ वटा क्षेत्रका ६६ वटा अमेरिकी सम्बद्ध कम्पनीहरूको प्रतिनिधित्व गरिरहेको तथ्य र यसले द्विपक्षीय व्यापारिक संलग्नतालाई विस्तार गरिरहेको विषयमा जानकारी दिएका थिए। अमच्याम नेपालले नीतिगत स्थिरता, निजी क्षेत्रको नेतृत्व र व्यापार-अनुकूल वातावरणमार्फत नेपालको लगानी वातावरण सुधार गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।






