
२५ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पामा सरकारी कार्यालयहरूले समेत खानेपानीको महसुल तिरेका छैनन् भन्ने तथ्यले समस्या उत्पन्न गरेको छ। जिल्ला सदरमुकाममा खानेपानी वितरण गर्दै आएको दुनै खानेपानी उपभोक्ता समितिले सरकारी कार्यालयदेखि निजी र व्यवसायिक उपभोक्ताहरूले वर्षौं देखिदेखि खानेपानी महसुल तिरेका छैनन् भनी जनाएको छ। उपभोक्ताले महसुल नतिर्दा खानेपानी व्यवस्थापनमा थप समस्या आएको दुनै खानेपानी उपभोक्ता समितिका सचिव हिक्मत शाहीले बताए। शाहीका अनुसार समितिले जडान गरेका ३१६ वटा खानेपानी धारामध्ये २६ वटा सरकारी कार्यालयमा रहेका छन्। तीमध्ये सदरमुकाममा रहेका १० वटा सरकारी कार्यालयले एक वर्षभन्दा बढी समयदेखि महसुल बुझाएका छैनन् भने जानकारी दिएका छन्। त्यस्तै, ६१ वटा निजी धारामध्ये १४ वटा र २२९ वटा व्यवसायिक धारामध्ये ४५ वटा धाराका उपभोक्ताले दुई वर्षभन्दा बढी समयदेखि महसुल तिरेका छैनन्। ‘पटक–पटक पत्राचार तथा सार्वजनिक सूचना जारी गर्दा पनि धेरै उपभोक्ताले बिल तिरेका छैनन्, अहिले कार्यालयको नाम नबोलौं,’ सचिव शाहीले भने, ‘खानेपानी व्यवस्था व्यवस्थित बनाउन कडाइको आवश्यकता छ।’ महसुल नतिर्ने उपभोक्ताहरूको लाइन काट्नुपर्ने अवस्था आउनसक्ने चेतावनी उनले दिएका छन्। केही कार्यालयहरूले महसुल तिरेको दाबी गरे पनि समितिको बैंक खातामा पैसा नदेखिएको समितिका पदाधिकारीहरूको भनाइ छ। समितिले आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म बैंकमार्फत भुक्तानी गरिएको रकमको प्रमाण तथा ईएफटी विवरण सम्बन्धित कार्यालयसँग माग गर्ने तयारी गरेको जनाएको छ। बैंक स्टेटमेन्टमा कार्यालयको नाम स्पष्ट नदेखिनुले रकमको पुष्टिमा कठिनाइ भएको समितिको भनाइ छ।
महसुल नउठ्दा काम गर्न कठिनाइ समितिले हाल निजी धाराका लागि मासिक न्यूनतम १५० रुपैयाँ, व्यवसायिक धाराका लागि २०० रुपैयाँ र सरकारी कार्यालयका लागि ५०० रुपैयाँ महसुल लिइरहेको छ। न्यूनतम शुल्क समेत बुझ्न नसक्दा कर्मचारी व्यवस्थापनदेखि मर्मतसम्भारसम्म कठिनाइ भएको समितिको गुनासो छ। समितिमा हाल चार जना कर्मचारी कार्यरत छन्। मासिक ६० हजार रुपैयाँभन्दा बढी खर्च हुने भए पनि आम्दानी त्यति नै हाराहारीमा रहेको सचिव शाहीले बताए। खानेपानीको दुरुपयोग रोक्नका लागि समितिले सदरमुकाम क्षेत्रका सबै धारामा मिटर जडान गर्ने तयारी गरेको छ। वैशाख १ गतेदेखि परीक्षणका लागि ६ वटा धारामा मिटर जडान गरी अध्ययन गरिएको समितिले जनाएको छ। समितिका अनुसार जेठ महिनादेखि सबै धारामा मिटर जडान गर्ने तयारी छ। मिटर जडानपछि प्रति युनिट कति शुल्क लिनु पर्ने विषयमा अध्ययन भइरहेको छ। सदरमुकाम क्षेत्रका धेरै उपभोक्ताले धाराहरू खुला छोड्ने र अनावश्यक पानी प्रयोग गर्ने भएकाले कतिपय क्षेत्रमा पानी अभाव देखा परेको खानेपानी अध्यक्ष बबि किशोर गुरुङले बताए। ‘धारामा मिटर जडान भएपछि पानी दुरुपयोग नियन्त्रण हुनेछ र सबै उपभोक्ताले आवश्यकतानुसार पानी पाउनेछन्,’ उनले भने। हाल दुनै क्षेत्रमा शालीखोला र पाल्चाखोलाबाट दैनिक करीब २ लाख ४० हजार लिटर पानी वितरण भइरहेको छ। बिहान र बेलुका गरी दैनिक ७ घण्टाभन्दा बढी समय खानेपानी वितरण भइरहेको समितिले जनाएको छ। समितिले जिल्लास्थित खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले आवश्यक काम नगरेको आरोप लगाएको छ। सदरमुकामको खानेपानी समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा पनि कार्यालयले विभिन्न जनप्रतिनिधिहरूको दबाबमा प्रत्येकपटक डीपीआर तयार गर्ने, गुणस्तरहीन काम गर्ने र अपूरा काममै भुक्तानी दिने जस्ता काम गरेको आरोप अध्यक्ष गुरुङले लगाए। ‘दुनै खानेपानीका लागि पर्याप्त बजेट आए पनि सही सदुपयोग गर्न नसक्दा पीडा भएको छ,’ गुरुङले बताए। अध्यक्ष गुरुङका अनुसार यस वर्ष माथिल्लो दुनैमा रहेको पुरानो रिजर्व ट्यांकी भत्काएर १२८ घनमिटर क्षमताको नयाँ ट्यांकी निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। त्यसैगरी क्याम्पस साइड, सरस्वती मन्दिर र अस्पताल साइडमा रहेका ५०–५० घनमिटर क्षमताका रिजर्व ट्यांकी संरक्षण र पाइपलाइन विस्तारका काम पनि अघि बढाइएको छ। समितिका अनुसार २०६० सालमा निर्माण गरिएको ९० घनमिटर क्षमताको पुरानो रिजर्व ट्यांकी जीर्ण भएपछि नयाँ बनाउन लागिएको हो। खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले दुनै खानेपानी उपभोक्ता समितिलाई हालसम्म एक करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको बताइएको छ। हरेक वर्ष १० लाखदेखि ३० लाख रुपैयाँसम्म सहयोग हुँदै आएको भए पनि आवश्यक बजेट अपुग हुने अध्यक्ष गुरुङले बताएका छन्। यस वर्ष रिजर्व ट्यांकी निर्माणसँगै जीआई पाइप र मर्मतसम्भारका लागि थप सहयोग आवश्यक रहेको समितिले जनाएको छ।






