
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट कार्यसमिति सदस्यमा निर्वाचित ईश्वर जिसीले खेल क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने लक्ष्य राखेका छन्। ईश्वर जिसी नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सका अध्यक्ष हुँदै खेल क्षेत्रमा योगदान गर्दै आएका छन्। उद्योग वाणिज्य महासंघमा सदस्य बनेपछि जिसीले खेल क्षेत्रलाई व्यवस्थित र दिगो उद्योगको रूपमा स्थापना गर्ने योजना बनाएका छन्। २५ वैशाख, काठमाडौं।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएट कार्यसमिति सदस्यतर्फ विजयी भएका जिसी हाल नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत खेल क्षेत्रमा संलग्न छन्। एनपीएलमा लुम्बिनी लायन्सका अध्यक्ष समेत रहेका उनी खेलकुद क्षेत्रमा योगदान दिँदै आएका छन्। लुम्बिनी लायन्सले दोस्रो संस्करणको एनपीएलको उपाधि जितेको थियो।
‘स्वास्थ्य पर्यटन, खेल तथा उत्पादनमूलक कम्पनीहरूको नेतृत्व गरेको अनुभवबाट मनोरञ्जन र खेल क्षेत्रको महत्व राम्रोसँग बुझ्न सफल भएको छु,’ उनले भने। उनले खेल क्षेत्र केवल मनोरञ्जन मात्र नभई यसले पर्यटन प्रवर्द्धनदेखि अन्तर्राष्ट्रिय सम्बन्धसम्म सहयोग पुर्याउने बताए। ‘खेल क्षेत्रले केवल मनोरञ्जनमा सीमित न थिएर सम्पूर्ण व्यवसायिक चक्रलाई एकीकृत गर्दै बलियो इकोसिस्टम निर्माण गर्न सक्छ,’ जिसीले भने।
‘यसले पर्यटन, रोजगारी, उत्पादन, सेवा तथा अन्तर्राष्ट्रिय सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्दै देशलाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।’ नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट कार्यसमिति सदस्यमा निर्वाचित भएपछि खेल क्षेत्रलाई व्यवस्थित गर्न र दिगो उद्योगको रूपमा स्थापना गर्न पहल गर्ने उनले बताए। ‘खेल क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र दीगो उद्योगको रूपमा स्थापित गर्नु मेरो नयाँ र प्राथमिक एजेन्डा हुनेछ,’ उनले भने।






