इरानको नियन्त्रणमा रहेका अमृत झालाई नेपाल ल्याउने प्रक्रिया जारी: परराष्ट्र मन्त्रालय

समाचार सारांश सरकारले इरानको नियन्त्रणमा रहेका अमृत झालाई नेपाल ल्याउने प्रक्रिया जारी राखेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कानुनी प्रक्रिया इरानको विषम परिस्थितिका कारण बाँकी रहेको बताए। अमृत झा हर्मुज क्षेत्रको अब्बास बन्दरगाहबाट इरानी सेनाले नियन्त्रणमा लिएका थिए। २५ वैशाख, काठमाडौं। सरकारले इरानको नियन्त्रणमा रहेका अमृत झालाई नेपाल ल्याउने प्रक्रिया जारी राखेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत उनी अझै इरानी सेनाको नियन्त्रणमा रहेको र कानुनी प्रक्रिया सुरु नभएको बताएका छन्। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले भने, ‘इरानी नियन्त्रणमा रहेका अमृत झाको रिहाइ प्रक्रियामै छ। इरानको पछिल्लो विषम परिस्थितिका कारण कानुनी प्रक्रिया बाँकी छ।’ उनी अमृतको रिहाइका लागि सम्बन्धित निकाय र परिवारसँग सम्पर्कमा रहेको र रिहाइको प्रयास निरन्तर जारी रहेको पनि बताउनुभयो। इरानमा तेल लिएर फिर्ता हुने क्रममा हर्मुज क्षेत्रमा पर्ने अब्बास बन्दरगाहबाट इरानी रिभोलुसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो। इजरायल–अमेरिका र इरानबीच सम्भावित युद्ध सुरु हुनु अघि इन्धन ल्याउन उनी इरान पुगेका थिए। दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनको रूपमा कार्यरत झालाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको हो।






