सरकारले कृषि अनुसन्धानका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्यो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कृषि अनुसन्धानका लागि ठोस प्रस्ताव आएमा सरकारले तत्काल बजेटको व्यवस्था गर्ने आश्वासन पनि दिएका छन्। २५ वैशाख, काठमाडौं।
सचिव मिश्रले ललितपुरमा आयोजित नेपाल कृषि अनुसन्धान परिषद्को ३५औं वार्षिकोत्सव समारोहमा बोल्दै कृषि क्षेत्रमा बजेटको अभाव भइरहेका बेला सरकारले अब बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले कृषि अनुसन्धानको कामलाई प्राथमिकताका साथ अघि बढाइएको दाबी गरे।
सचिव मिश्रले भने, “रिक्त दरबन्दीहरू यो वर्षबाट सुरु हुन थालेका छन्। विनियम आएको छ। पुनर्संरचनाको काम सुरु भएको छ। ऐन संशोधनका लागि कार्यदल गठन भएको छ।” उनले कृषि मन्त्रालय अन्तर्गतका रिक्त दरबन्दी पूर्ति हुनेगरी नीतिगत र कानुनी रूपमा कार्यहरू अघि बढाइने जानकारी पनि दिए।






